१० असोज,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा रहेका समस्या पहिचान गरी सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको इन्जिनियर अफजल हुसैनले बताएका छन्।

हुसैनका अनुसार उनले वीरगञ्ज चिनी मिल, सिर्सिया नदी, नारायणी अस्पताल, विद्युत् सेवा, सरकारी तथा सामुदायिक विद्यालय, खानेपानी, विभिन्न वडा तथा ट्राफिक व्यवस्थापनलगायतका विषयमा स्थलगत अनुगमन तथा सम्बन्धित अधिकारीहरूसँग छलफल गरेका छन्।

वीरगञ्ज चिनी मिलका सम्बन्धमा स्थलगत निरीक्षण गरी मेसिनरी तथा पार्टपुर्जाको अवस्थाबारे अध्ययन गरेको र त्यससम्बन्धी विवरण तथा प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको हुसैनको भनाइ छ। उनका अनुसार मिलको अवस्थाबारे सम्बन्धित अधिकारीहरूलाई प्राविधिक विवरणसमेत प्रस्तुत गरिएको थियो।

त्यस्तै, सिर्सिया नदीको प्रदूषण तथा सरसफाइका विषयमा स्थलगत अध्ययन गरी सम्बन्धित निकायको ध्यानाकर्षण गराएको उनले बताएका छन्। नदीको अवस्था सुधार तथा प्रदूषण नियन्त्रणका लागि आवश्यक पहल हुनुपर्ने उनको धारणा छ।

नारायणी अस्पतालको स्थलगत अवलोकनपछि देखिएका समस्या तथा सुधारका विषय समेटेर स्वास्थ्य मन्त्रालयमा प्रतिवेदन पेश गरेको र अस्पताल प्रशासनसँग समेत छलफल गरेको हुसैनले बताएका छन्।

त्यसैगरी, नेपाल विद्युत् प्राधिकरण, खानेपानी संस्था तथा महानगरका विभिन्न सरकारी र सामुदायिक विद्यालयमा पुगेर सेवा तथा पूर्वाधारसँग सम्बन्धित अवस्थाबारे जानकारी लिएको उनको भनाइ छ।

महानगरका विभिन्न वडामा पुगेर वडा अध्यक्ष तथा स्थानीयसँग छलफल गर्दै ढल, नाला, सडक र नागरिकका आधारभूत आवश्यकतासँग सम्बन्धित समस्याबारे जानकारी लिएको र ती विषय सम्बन्धित निकायसम्म पुर्‍याउँदै आएको हुसैनले बताएका छन्।

वीरगञ्जको ट्राफिक व्यवस्थापन र सडक सुरक्षाका विषयमा ट्राफिक प्रहरीसँग समेत छलफल गरेको उनले बताएका छन्।
मेयर पदका लागि उम्मेदवारी दिने तयारीसँगै हुसैनले आफूले विगतमा विभिन्न सार्वजनिक विषयमा स्थलगत रूपमा जानकारी लिने र सम्बन्धित निकायसँग समन्वय गर्ने प्रयास गरेको बताउँदै आएका छन्।

उनले भनेका छन्, “मेरो उद्देश्य केवल समस्या देखाउनु होइन—समस्या पहिचान गर्ने, सम्बन्धित निकायसम्म विषय पुर्‍याउने र सम्भावित समाधान खोज्ने हो।”

हुसैनका अनुसार वीरगञ्जका समस्या समाधानका लागि समस्या पहिचान, स्पष्ट योजना, सम्बन्धित निकायबीच समन्वय र परिणाममुखी कार्यान्वयन आवश्यक छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर