साजिर मन्सूर
बारा,असोज १६
नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री फर्मुल्लाह मन्सुरको समन्वयकारी भूमिका र राजनीतिक सुझबुझका कारण बाराका चारवटै निर्वाचन क्षेत्र,८ वटै प्रदेश निर्वाचन क्षेत्र,१६ वटा स्थानिय तह र १६७ वडा मा कांग्रेसको अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको छ।
नेपाली कांग्रेसको १५औँ आसन्न महाधिवेशनलाई लक्षित गर्दै जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा भएको अधिवेशनमा नेतृत्व तथा महाधिवेशन प्रतिनिधि चयनका क्रममा सहमतिको वातावरण निर्माण गरिएको हो। पार्टीभित्र फरक–फरक धारणा र आकांक्षा भए पनि आपसी संवाद, सहकार्य र सहमतिमार्फत अधिवेशनलाई विवादरहित ढङ्गले अघि बढाइएको कांग्रेसका स्थानीय नेताहरूले बताएका छन्।
पार्टी संगठनभित्र देखिन सक्ने प्रतिस्पर्धालाई व्यवस्थापन गर्दै सबै पक्षलाई समेटेर अघि बढ्ने फर्मुल्लाहको पहलले बारामा अधिवेशनको वातावरणलाई सहज बनाउन महत्वपूर्ण भूमिका खेलेको कांग्रेसका नेता तथा कार्यकर्ताहरूको भनाइ छ।
नेपाली काङ्ग्रेस भित्र अत्यन्तै प्रभावशाली एवम दुरदर्शि नेताका रुपमा चिनिने मन्सुरले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई सम्मान गर्दै संगठनलाई थप एकताबद्ध र मजबुत बनाउन सहमति तथा सहकार्य आवश्यक रहेको बताउँदै आएका छन्। केन्द्रिय महाधिवेशनमा जानू अघि नेता मन्सूरले सबै पक्षको सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्दै आगामी महाधिवेशनलाई सफल बनाउन केन्द्रित हुनुपर्नेमा सबै महाधिवेशन प्रतिनिधिहरुमा जोड दिएका छन्।
सहमहामन्त्री मन्सूरले सबैलाई मिलाएर लान चाहेपनी पार्टीको बिधान महाधिवेशन प्रतिनिधि संख्या आदिको सिमितताले केही जुझारु ईमान्दार साथिहरु छुट्न गएको प्रती आफुपनी दुखी भएको र वहाहरुलाई पार्टी ले आगामी दिनमा ब्यवस्थापन गर्ने बताएका छन ।
चारवटै निर्वाचन क्षेत्रमा सर्वसम्मत रूपमा अधिवेशन सम्पन्न हुनुलाई कांग्रेसको आन्तरिक एकता, संवाद र सहमतिको अभ्यासका रूपमा लिइएको छ। यसले आगामी दिनमा जिल्लाको संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
१५औँ महाधिवेशनको तयारीसँगै बारामा कांग्रेसको संगठनात्मक गतिविधि पनि तीव्र बनेको छ। अधिवेशनबाट चयन भएका प्रतिनिधिहरूले अब पार्टीको केन्द्रीय महाधिवेशनमा सहभागी हुँदै नेतृत्व, नीति तथा संगठनसम्बन्धी विषयमा आफ्नो भूमिका निर्वाह गर्नेछन्।












