प्रीयन्का दास
काठमाडौं,असोज १९
नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनमा केन्द्रीय उपसभापति पदमा उम्मेदवारी दिने तयारीसहित केन्द्रीय सहमहामन्त्री फरमुल्लाह मन्सुरले आफ्नो राजनीतिक यात्रालाई थप जिम्मेवारीसहित अघि बढाउने उदघोष गरेका छन्।
मन्सुर नेपाली कांग्रेसभित्र लामो समयदेखि सक्रिय रहँदै आएका नेतामध्ये एक हुन्। उनको राजनीतिक यात्रा २०२८ सालमा भारतको पटना पुगेर कांग्रेसका संस्थापक नेता बीपी कोइरालाबाट पार्टी सदस्यता लिएपछि सुरु भएको थियो । त्यसपछि बारा जिल्ला कांग्रेसको संगठन निर्माणमा सक्रिय हुँदै उनले उपसचिव र सचिवलगायत जिम्मेवारी सम्हालेका थिए।
बहुदलीय व्यवस्था पुनःस्थापनापछि मन्सुरले २०४८ देखि २०५७ सालसम्म बारा जिल्ला कांग्रेस सभापतिको जिम्मेवारी सम्हाले। २०५६ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनको राजनीतिक यात्रा राष्ट्रिय राजनीतितर्फ अघि बढेको थियो। उनी दोस्रो संविधानसभाका सदस्यसमेत बने र संविधान निर्माण प्रक्रियामा सहभागी भएका थिए।
मन्सुरले सरकारमा समेत विभिन्न जिम्मेवारी सम्हालेका छन्। उनी विज्ञान तथा प्रविधि तथा श्रम तथा रोजगार मन्त्री भइसकेका छन्। विशेषगरी श्रम तथा वैदेशिक रोजगारीसँग सम्बन्धित विषयमा उनको सार्वजनिक राजनीतिक भूमिका देखिएको छ।
कांग्रेसको १४औँ महाधिवेशनबाट मुस्लिम क्लस्टरतर्फ सहमहामन्त्री निर्वाचित भएका मन्सुर पछिल्लो विशेष महाधिवेशनपछि पनि पार्टीको सहमहामन्त्रीको भूमिकामा रहेका छन्।
पछिल्लो राजनीतिक परिवर्तनका क्रममा मन्सुरले पार्टी नेतृत्व, विधानको पालना र संगठनलाई नयाँ दिशामा अघि बढाउने विषयमा आफ्नो धारणा सार्वजनिक रूपमा राख्दै आएका छन्। विशेष महाधिवेशनको समयमा उनले गगन थापालाई पार्टी नेतृत्वमा अघि बढाउनुपर्ने धारणा राखेको र साथ दिदै आएका प्रभावशाली नेता हुन ।
अब १५औँ महाधिवेशनमा उपसभापति पदका लागि उनको दाबीलाई कांग्रेसभित्रको पछिल्लो नेतृत्व संरचना र उनको लामो राजनीतिक अनुभवसँग जोडेर हेरिएको छ।
मन्सुरको राजनीतिक यात्रामा संगठन निर्माण, मधेश तथा मुस्लिम समुदायको प्रतिनिधित्व, संसदीय राजनीति र सरकार सञ्चालनको अनुभव जोडिएको छ। यही पृष्ठभूमिका आधारमा उनले आगामी महाधिवेशनमा पार्टीको उपसभापतिको जिम्मेवारीका लागि आफ्नो दाबी प्रस्तुत गरेका हुन्।
उनको उम्मेदवारीसँगै कांग्रेसको १५औँ महाधिवेशनमा विभिन्न पदाधिकारीका लागि नेताहरूले आफ्नो दाबी सार्वजनिक गर्ने क्रम तीव्र बनेको छ। पछिल्ला सार्वजनिक विवरणअनुसार उपसभापति र अन्य पदाधिकारी पदमा आकांक्षीहरूको संख्या बढ्दै गएको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर