२७ असोज , बारा। आगामी चाडपर्वलाई लक्षित गरी बाराको कलैया बजारमा गरिएको संयुक्त छड्के अनुगमनका क्रममा अखाद्य तथा म्याद गुज्रिएका सामग्री खरिदबिक्री गरेको भेटिएपछि दुई पसललाई १५ हजार रुपैयाँ जरिवाना गरिएको छ। आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जका प्रमुख सुनिल चौरसियाको नेतृत्वमा मंगलबार गरिएको अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड (घ) र दफा ३९ को खण्ड (क) बमोजिम विकास जेनरल स्टोर्सलाई ५ हजार रुपैयाँ र माँ अन्नपूर्ण स्वीट्सलाई १० हजार रुपैयाँ जरिवाना गरिएको हो।
अनुगमनका क्रममा विकास जेनरल स्टोर्समा म्याद गुज्रिएको पशुपति टी किङ चियापत्ती र कुरकुरे पास्ता फेला परेपछि टोलीले बरामद गरी जफत तथा नष्ट गरेको छ। त्यसैगरी, यसअघि पनि ५० हजार रुपैयाँ जरिवाना परिसकेको माँ अन्नपूर्ण स्वीट्समा मिठाई बनाउन प्रयोग गरिने म्याद गुज्रिएको खिराको बियाँ, केवरा वाटर र गुलाबजल फेला परेकाले सोही स्थानमा पानीमा बगाएर नष्ट गरिएको छ।



अनुगमन टोलीले जय महारानी किराना भण्डारमा समेत म्याद गुज्रिएको मसला फेला पारेको थियो। यसबाहेक टोलीले न्यु दास किराना पसल, सिद्धु सिद्धार्थ स्वीट्स, न्यु दास सप्लायर्स, राजेश किराना, कलैया बिरयानी हाउस, लक्ष्मी स्वीट्स र मा तारा स्वीट्स लगायत १० भन्दा बढी पसलहरूमा विस्तृत निरीक्षण गरेको छ।
वाणिज्य कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगन्ज, जिल्ला प्रशासन कार्यालय बारा र नेपाल प्रहरीको संयुक्त सहभागिता रहेको उक्त अनुगमनका क्रममा व्यवसायीहरूलाई म्याद गुज्रिएका सामान खरिदबिक्री नगर्न, अखाद्य वस्तु छुट्टै राख्न, सामानको लेबल जाँच गर्न र पसलमा सरसफाइ कायम राख्न निर्देशन दिइएको छ। कार्यालय प्रमुख चौरसियाले उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणका लागि आगामी दिनमा पनि यस्ता बजार अनुगमनलाई निरन्तरता दिइने बताउनुभएको छ।









