वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा सोमबार अख्तियारको टोलीले छापामारी गरेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ ।
अस्पतालको फार्मेसी विभागमा छापामारी गरेर अख्तियारको टोलीले फर्मेसीको स्टक, म्याद गुज्रेको औषधीको विवरण, खरिद तथा बिक्री सम्बन्धित कागजातहरु नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।



अख्तियारको टोलीले अस्पतालका निमित्त मेसु डा. विरेन्द्र बहादुर प्रधानसँग पनि फार्मेसीको बारेमा संचारमाध्यममा आएका विषयलाई लिएर सोधपुछ गरेको थियो । अख्तियारको टोलीसँग निमित्त मेसु प्रधानले आफ्नो पालामा औषधी खरिदका लागि १० लाख रुपैयाँ मात्रै प्रयोग गरेको प्रतिकृया दिएका थिए । यस्तै संचारमाध्यममा आएजस्तो १ करोड बढी रकम यसअघिका मेसु डा.मदन उपाध्यायको पालामा औषधी खरिदमा खर्च भएकाले त्यो अनियमिततामा आफूलाई नमुछ्न पनि उनले आग्रह गरे ।
‘डा.मदन मेसु भएका बेला औषधी खरिद भएको थियो, त्यति बेलैको फस्र्यौट अझैसम्म पनि हुन सकेन,’ निमित्त मेसु डा.प्रधान भन्छन्, ‘त्यसैले यहाँ बेरुजु देखियो ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौडाका सूचना अधिकारी विष्णु सापकोटा नेतृत्वमा आएको ५ सदस्यिय टोलीले अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्र किशोर लाभ र पदाधिकारीसँग पनि जानकारी लिएको थियो ।
अस्पताल विकास समितिका सदस्य सुरेन्द्र गुप्ताले अस्पतालमा अहिले पनि करिब ७० लाख जतिको म्याद गुज्रेका औषधीहरु रहेकाले ती सबै औषधी वितरकले फिर्ता लैजाने बताए । ‘औषधी खरिद गर्ने बेलैमा म्याद गुज्रिएका औषधी वितरकले फिर्ता गर्ने भनेर सम्झौता भएको छ,’ गुप्ता भन्छन्, ‘त्यसैले औषधीको म्याद गुज्रिएको भए पनि त्यसबापतको भुक्तानी अस्पतालले फिर्ता पाउँछ ।’
सरकारले चार वर्षअघि सरकारी अस्पतालमा आफ्नै फार्मेसी सञ्चालन गर्ने नीति अनुरुप २० लाख रुपैयाँ सिड मनी (बीउ पुँजी) र करारमा ६ कर्मचारी राखेर फार्मेसी सुरु गरेको हो । अख्तियार क्षेत्रीय कार्यालय हेटौँडाका सूचना अधिकारी सापकोटाले अस्पतालका बारेमा परेको उजुरी र संचारमाध्यममा आएका समाचारलाई आधार बनाएर आफूहरु छानविन गर्न अस्पताल आएको र आवश्यक कागजातको अध्ययनपछि मात्रै कारबाही प्रकृया अघि बढ्ने जानकारी दिए ।









