डा.शोभाकर पराजुली

बर्खा अनि झरी, प्रकृतीका यी वैशालु पलहरू सुन्दरताले जति उन्मत्त हुन्छन्, त्यत्ति नै भयानक पनि। मान्छे अनि प्रकृतीबीचको यो आदिम साइनोमा जब उल्झनहरू आउन थाल्छन् अनि ती एकअर्का लागि खतरनाक हुन्छन्।

भनिन्छ आपत-विपद् बाजा बजाएर आउँदैन् तर यसको शालिनता भने हमेसा प्राणीजगतका लागि खतरापूर्ण छ। प्राकृतिक विपदहरूलाई रोक्न वा छेक्न त सकिंदैन तर शासकवर्गको दूरगामी नीति र दृष्टीहरूले त्यसबाट हुने क्षति न्यूनिकरण भने गर्नसक्छन्। तर हामीले बाँचिरहेको देश अनि यो कस्ताले यो देश चलाइरहेका छन् भन्ने ताजा दृश्य हामीले हरेक यस्ता मौसमहरूमा देखिरहेका हुन्छौं।

गत शुक्रबार बिहानपख सडकमा गुडिरहेका दुई यात्रुबाहक बसहरू पहिरोसँगै खसेर त्रिशुलीमा बगिगए। त्यसमा ६५ जनाभन्दा बढी मानिसहरू थिए। त्रिशुलीको बेगसँगै ती ज्यानहरू हराइरहेका छन्। हरेक ज्यानको किमत चुकाउन त सकिंदैन नै। तथापि यतिधेरै मानिस नदीमा हराइरहँदा हाम्रो देशका नेताहरू ‘सरकार ढाल्न अनि सरकार बनाउन’ तँछाडमछाड गर्दै थिए। आजको विश्व मात्रै एउटा ब्रह्माण्डमा सिमित छैन। चन्द्रमाको आँगनमा मान्छेको पाइला पुगेको वर्षौं भइसक्यो। समुद्रमुनि मान्छेको बस्ती विस्तार भइरहेको छ, मंगलग्रहरू मान्छेका लागि नयाँ गनत्ब्य बनिसकेको छ। तर हामी कहाँ छौं, कस्तो संसारमा छौं जहाँ एउटा नदीमा हराएका त्यत्रा मान्छेहरू कैयौं दिनसम्म भेट्न सक्दैनौं अनि हराएका सिङ्गा बसहरू हप्तौंसम्म भेट्नैसक्दैनौं। प्रविधिको यो युगमा हामीले नदीले निलेका बसहरू खोज्न चुम्बक बगाइरहेका छौं।

हामीसँग त्यस्तो कुनै प्रभावकारी उद्धार या राहत प्रणाली छैन। संयन्त्र छैन। कुनै नीति वा नियम छैन। सिङ्गै प्रणालीको अभावमा हामी त्यसै त्यसै रुमलिइरहेका छौं। यो मात्रै होइन हामीले कैयौ बिनाशकारी भूकम्पहरू झेलिसकेका छौं। ठुल्ठूला दुर्घटनाको शिकार भइहेका छौं। तर ती सबमा हाम्रो न कुनै संरचनागत उद्धार संयन्त्र छ न तत्कालै परिचालन गर्ने कुनै प्रणाली। यस्तोमा हामीले आपत विपदका बेला चाहिन्छ भनेर कुनै एउटा प्रतिवद्ध उद्धार र राहत संचरना बनाएर त्यसलाई हरपल तयारी अवस्थामा राख्नुपर्छ भनेर सोच्न सकेनौं। वा हामीले कहिल्यै चेत्दै चेतेनौं। र चेत्दैनौं पनि।

यो एउटा दुर्घटनामात्रै होइन, यो त देशले हरेक वर्ष भोगिरहने एउटा प्राकृतिक विपदको अनन्त चक्र पनि हो। र, सँगै हाम्रो शासन प्रणालीको एउटा क्षतबिक्षत बिम्ब पनि हो। यसैबाट थाहा हुन्छ हामी कस्ता मान्छेबाट शासित छौं अनि कस्तो शासकीय दृष्टीबाट अँध्यारिइरहेका छौं।

राजधानीलाई पूर्वपश्चिम राजमार्गसँग जोड्ने यो एकमात्रै ठूलो बाटो हो। सवारी साधनको लाखौं ओहोर-दोहोरमा यसौं दुर्घटनाहरू यसअघि पनि हुँदै आएका हुन्। बर्षाको यो मौसममा हुने बाढी-पहिरोमात्रै होइन सङ्गो त्रिशुलीले पनि हरेक दिनजसो कैयौ मानिसको ज्यान निलिरहेको हुन्छ। त्रिशुली एउटा प्राकृतिक बरदान त हो नै तर मान्छेको जात प्रकृतिसँग जति छिल्लिन खोज्छ त्यसको प्रतिरोध पनि उत्तिकै भयङ्कर हुन्छ। यो कुरा मान्छे जान्दछ तर आफ्नो स्वभाव बदल्नसक्दैन र निरन्तर प्रकृतिलाई बिथोल्न खोज्न परिणाम हामीले भोगिरहेकै छौं।

बितेको करिब डेढ दशकमा ३३ हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्, यिनै सडक दुर्घटनामा परेर। तर सडक दुर्घटनालाई राज्यले न अपनत्व लिन्छ न जिम्मेवारी बोध। यो सरकारी तथ्याङ्क नै हो। मारिएका धेरै ज्यान यसमा छुटेका हुनसक्छन्। यो दशकमा मात्रै सडकले निलेका यी करिब ३३ हजार ज्यानको मूल्य सायदै चुकाउन सकिएला तर हामीले चेत्नुपर्ने कुरा पनि चेतिरहेका छैनौं। देशभरि यो डेढ दशकमा भएका ३ लाख १६ हजार २१२ सवारी दुर्घटनाहरू, त्यसले निलेका करिब ३३ हजार ज्यान अनि करिब ७१ हजार घाइते ज्यानको जिम्मेवारी राज्य अनि यो शासनप्रणालीले लिनुपर्छ कि पर्दैन? दुर्घटना आफैमा एउटा दुर्घटना नै हो। तर एउटा लोककल्याणकारी राज्यप्रणालीमा यो मात्रै भवितब्य होइन बरु यो राज्यले गरेको नागरिक हत्या पनि हो।

‘डोजरे इन्जिनियरिङ’ खोतलेका नेपालका सडकहरूमा दुर्घटना सामान्यजस्तै लाग्छन्। तर भुँइमान्छेले निरन्तर ब्यहोरिरहेको यो पीडालाई राज्यले कहिल्यै आफ्नो घाउ मान्दैन। सडक दुर्घटनामा मारिएका मान्छेको ज्यानको मूल्य राज्यले कहिलै मूल्यवान ठान्दैन। उसै पनि हरेक प्राणीको ज्यानको मूल्य त हुँदैन तर हामी शासित प्रणाली कति खोक्रो छ अनि शासकहरू कति निर्दयी छन् भन्ने प्रस्ट चित्र यी दिनदिनै र क्षणक्षणै हुने दुर्घटनाहरूले झल्काइरहेका छन्। विकासका नाममा हामीले गरिरहेको यस्तै मनोमानीले प्रकृति बिथोलिइरहेको छ अनि त्यसले आम नागरिकको जीवन मेटाइरहेको छ। कस्तो बिकास गर्ने, कस्तो संरचना कहाँ र कसरी बनाउने भनेर हामीले कहिल्यै कुनै दीर्घकालीन रणनीतिमाथि बिमर्श गरेका छैनौं वा यस्तो लाग्छ हाम्रा शासक र हाम्रो शासन प्रणाली त्यतातिर जानै चाहन्न।

सरकारले यस्ता आपदाबाट बच्न अनि बचाउनका लागि पूर्वतयारी वा प्रतिकार्यका लागि भनेर हरेक वर्ष अर्बौं रकम खर्च गरिरहेको हुन्छ। हरेक वर्ष विपदबाटको क्षति न्यूनिकरणका लागि पूर्वतयारी गर्न भन्दै राज्यका निकायहरूले धुमधामै पूर्वतयारी गर्छन् तर हामीले देखिरहेका छौं भोगिरहेकै छौं सामान्य वर्षाका केही छिटाहरूकै भेलले देशकै राजधानी डुबाइरहेको छ। यो एउटा झरीको प्रभावमात्रै होइन यो त डुब्दै गरेको सिङ्गो देशको भयानक बिम्ब पनि हो। यो एउटा वर्षा वा बाढीको डुबानमात्रै होइन यो त हाम्रा शाकीय प्रणालीहरू कसरी ध्वस्त भइरहेका छन् भन्ने एउटा कुरुप चित्र हो। जसलाई हेरेर लजाउनुपर्ने शासक वर्ग त कहिल्यै लजाएन। अर्थात् यिनीहरू त्यो लाज भन्ने कुनै जिनिशै छैन।

यो पृथ्वी दिनदिनै उम्लिरहेको छ। यो एउटामात्रै राष्ट्र वा कुनै क्षेत्रकोमात्रै जिम्मेवारी होइन। शक्ति राष्ट्र बन्ने धुनमा उन्मत्त औद्योगिकीकरणले विश्वव्यापीरुमै पृथ्वीको तापमान बढिरहेको छ। जसले गर्दा हाम्रा हिमालका हिँउ पग्लिरहेको छ। हजारौं वर्षदेखि आधा विश्वको सिरान बनेका हाम्रा यी हिमश्रृङ्खलाहरू नै हुन् जसले अर्बौं मान्छेको प्राण भरिरहेका छन् अर्थात् पृथ्वीका आधा मान्छेका लागि पानीको प्यास मेटाउने यिनै हिँउका श्रृङ्खलाहरू हुन्। तातिरहेको पृथ्वी अनि पग्लिरहेका हिँउका कारण अझै हामीले भोग्नुपर्ने वा बेहोर्नुपर्ने धेरै त्यस्ता विपदहरू छन् जो अवश्यंभावी पनि हुन्। यसलाई अहिलेको बैज्ञानिक भाषामा जलवायु परिवर्तन पनि भन्ने गरिएको छ। यो एउटामात्रै देशको कुरा होइन, सारा विश्वले नै यसलाई अपनत्व लिइरहेको छ। ठुल्ठूला देशहरूले आफ्नो तरक्कीका लागि बिथोलिरहेको यो पर्यावरणीय चक्रले गर्दा हाम्रोजस्ता देशका आममानिसले आफ्नो जीवनकै मूल्य चुकाउनुपरिरहेको छ। यो अमूल्य ‘लस एण्ड ड्यामेज’को मूल्य हामीले पैसाको अंकगणितमा साट्नै मिल्दैन। तर आफ्नो अधिकारका लागि हाम्रा शासकवर्ग अब यो विश्वव्यापी समस्यासँग जुध्नैपर्छ। जति ढिला भयो हामीले उति नै धेरै क्षति बेहोर्नुपर्नेछ।

विश्वव्यापी यो संकटमा हाम्रोजस्तो देशको भागिदारी एकदमै नगन्य छ। नेपालजस्तो विकासशील देशहरूले त्यसको परिणाममात्रै धेरै भोग्नुपर्छ। जसको सुरुवात भइसकेको छ। हाम्रो जीवनमा ठोक्किन आइरहने यी विपदहरू त्यसकै परिणामहरू हुन्। तर पनि हामी सचेत भइरहेका छैनौं। यस्तोमा हामीले विश्व शक्ति राष्ट्रहरूबाट बाँच्न र बचाउन पाउने हाम्रो अधिकारका लागि बलियो लडाईं लडेकै छैनौं। अर्थात् भनौं हामीले त्यसमा हाम्रो जीवनको मूल्य मानेकै छैनौं। दयादानमा दिइने केही पैसालाई नै हामीले उपलब्धी ठान्यौं। हामीले त्यसबाट हाम्रा कार्यकारी प्रणालीहरू सुधार्न अनि प्रविधिको विकासमा कहिल्यै ध्यान दिन सकेनौं। विपदबाट बच्ने नाममा हामीले तारे होटलहरूमा गर्ने कर्मकाण्डहरूले आम नागरिकको ज्यान बाँच्दैन। नागरिकको ज्यान अनि उनीहरूको भौतिक क्षति अन्तत: राज्यकै क्षति हो। जसलाई पुनर्जिवित गर्नका लागि राज्यले कैयौं मूल्य चुकाउनुपर्छ। यतातिर हामीले सोचेका पनि छैनौं वा सोचेर पनि केही गर्न सकिरहेकै छैनौं।

हामीले हाम्रै पुस्तामा धेरै परिवर्तन गरिसकेका छौं। भोगिसकेका छौं। राजनीतिक व्यवस्था फेरिसकेका छौं। शासकीय प्रणाली र पद्धतिहरू फेरिसकेका छौं। बदल्न अनि फेर्न र फेरिन नसकेको त हाम्रो सोंच र काम गर्ने तरिकामात्रै हो। नफेरिएका हाम्रा शासकहरूको शासकीय सोंच हो। अब बदल्नैपर्छ। काम गर्ने तरिका बदलिनुपर्छ। फेरिका शासकीय अनि राज्यका व्यवस्था र प्रणालीहरूमा जिउँदो र जाग्दो प्राण भर्नैपर्छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर