डा. शोभाकर पराजुली
नेपाली राजनीतिक इतिहासमा पहिलोपटक भएको आम निर्वाचनबाट जननिर्वाचित प्रधानमन्त्री भएपछि विशेश्वरप्रसाद कोइरालाले २०१५ सालमा भनेका थिए- ‘१५ वर्षको समय भयो भने प्रत्यक नागरिकलाई प्रधानमन्त्रीको हैसियतसम्म पुर्याउने सपना छ।’
यसको अर्थ हरेक नागरिक पालैपालो प्रधानमन्त्री हुनुपर्छ भन्ने होइन तर देशको नेतृत्व तहमा हरेक आम नागरिकले पहुँच पाउनुपर्छ भन्ने हो। अर्थात् प्रधानमन्त्री वा अरु कुनै राजनीतिक लाभका पद मात्रै कुनै बिरासतको होइन भन्ने बिपी अर्थात् ‘सान्दाजु’को मर्म थियो।
तर विपीको त्यो सपनामाथि राजा महेन्द्रले तुषारापात गरिदिए। पहिलोपटक जननिर्वाचित प्रधानमन्त्रीले आफैले लडेर ल्याएको प्रजातान्त्रको पूर्णअभ्यास गर्नै पाएनन्। २०४ वर्षे राणा शासन अन्त्यका लागि बलिदान दिएका जनताका अधिकारमाथि फेरि राजा महेन्द्रले लोभीपापी आँखा लगाए। २०१७ साल पुस १ गते महेन्द्रले जनताका सारा मौलिक अधिकार खोसेर आफै कार्यकारी भएर देशको शासनसत्ता चलाउन थाले। जनताले निर्वाचित गरेका विपीहरूलाई धमाधम जेल हाल्न थाले।
राजनीतिक जीवनका करिब १५ वर्षहरू विपीले जेलमै बिताए। त्यसबीचका करिब ८ वर्षजति उनको जीवन निर्वासित रह्यो। जेल होस् या निर्वासन विपीले हरपल राजनीतिक जीवन नै बाँचे। राजनीतिकै लागि लडे। जनताका अधिकारका लागि शासकसँग जीवनभरि लडिरहे। १८ महिने उनको प्रधानमन्त्रित्वकाल एउटा प्रजातन्त्रका लागि स्वर्णकाल पनि थियो। देशको आधुनिकरण अनि विकासको एउटा प्रस्थानबिन्दुमात्रै थिएन बरु त्यो प्रस्ट दृष्टीकोण र दूरदृष्टीपूर्ण राजनीतिको एउटा सुरुवात पनि थियो। जहाँ समाजवादको मौलिकीकरण अनि सिद्धान्तको राजनीतिको गर्भरचना थियो।
राणा शासकसँग विद्रोह गरेका पिता कृष्णप्रसाद कोइराला र माता दिब्या कोइरालाको कोखमा विपीको जन्म भारतमै भएको थियो। विसं १९७१ भदौ २४ गते जन्मिएका विपी २०३९ साल साउन ६ गतेसम्म छाटो समय बाँचे। तर जति बाँचे पूरै जीवन देश र प्रजातन्त्रका लागि लडलडि बाँचे।
राजनीतिक परिवारमै जन्मिएका उनी आफ्ना पिताको राजनीतिक जीवनबाट दीक्षित थिए। शिक्षासँगै उनको राजनीतिक जीवनको आरम्भ भारतको बनारस, पटना र कोलकातालगायतका सहरमा भएको थियो। यी त्यस्ता ठाउँहरू हुन् जो ब्रिट्रिश शासनविरुद्ध भारतीय स्वतन्त्रता आन्दोलनका प्रमुख केन्द्रहरू थिए। त्यसले पनि विपीको कलिलो मस्तिस्क राजनीति र स्वतन्त्रता आन्दोलनले खारिएको थियो।
निर्वासनका अधिकांश समय बिपीको समय पनि यिनै सहरहरूमा बित्यो। जहाँबाट उनको साथसंगत भारतका दिग्गज समाजवादी नेताहरूसँग हुनपुग्यो। त्यसैको परिणाम थियो नेपालमा पनि समाजवादी आन्दोलनले ‘नेपाली काँग्रेस’ जन्मायो।
राजा त्रिभुवनलाई राणाको पिंजडाबाट मुक्त गर्न विपीले कुनै समय सशस्त्र क्रान्तिको नेतृत्व पनि गरे। मुक्ति सेना नेपाली काँग्रेसको लडाकु दस्ता थियो। जसको कमाण्डर बिपी नै थिए। जुन दरबारको अधिकारका लागि विपीले आफ्नो जीवन नै दाउँमा राखे त्यही दरबारले उनलाई जीवनभरि खेदिरह्यो। त्यस्तो अवस्थामा पनि विपी २०३३ सालमा मेलमिलापको नीति लिएर फर्किंदा पत्रकारहरूले सोधेका थिए- तपाईंलाई त राजाले मृत्युदण्ड दिनसक्छन् किन नेपाल फर्किनुभएको?’ बिपीले हाँसेरै जवाफ दिए- राजासँग मेरो घाँटी जोडिएको छ…। कतिपयले आज पनि बिपीको त्यही भनाइलाई लिएर ‘राजासँग घाँटी जोडिएको’ भनेर आलोचना गरिरहेका छन्। तर त्यसको मर्म धेरैलाई थाहा छैन। थाहा भएर पनि बुझाउन सकिरहेका छैनन्। बिपीले राजासँग घाँटी जोडिएको छ भन्नुको अर्थ थियो- बिपी नरहे राजा पनि रहनेछैनन्…। अर्थात् बिपीलाई मृत्युदण्डको अर्थ राजाको पनि अन्त्य हो। घाँटी जोडिएकाको मृत्यु त सँगसँगै हुने नै हो।
नेपालमा समाजवादी आन्दोलनका प्रणेता हुन् बिपी। राजनीतिमात्रै होइन साहित्यमा पनि बिपीको नाम उत्तिकै उज्यालो छ, जति राजनीतिक योगदानले उनको नाम सधै उजेलिइरहन्छ। समाजवादको त्यही गर्भरचना हो-नेपाली काँग्रेस। जसलाई बिपीले आफ्नो जीवनकालभरि हुर्काउँदै लगे। बिपीले कहिलेकाहिँ भन्ने गर्थ ‘म राजनीतिज्ञ कम दार्शनिक बढी भएँ कि!’ समाजवादको दर्शनको त्यो बिम्बमा कहिलेकाहिँ बिपीको ब्यबहारिक र मौलिक राजनीतिक जीवनलाई पनि छेक्न खोज्थ्यो। तथापि राजनीतिक आदर्शबाट बिपीको बाटो कहिल्यै अगल भएन।
बिपीले पहिलो विश्वयुद्धलाई ताजा अक्षरहरूमा पढेका थिए। जिउँदा दृश्यमा हेरेका थिए। र दोस्रो विश्वयुद्ध आफैले भोगेका थिए। जतिबेलाको विश्व कम्युनिस्ट अनि साम्यवादको कहिल्यै पूरा नहुने गन्तव्य ताकेर बिथोलिएको थियो। त्यो बेला बिपीले नेपाली समाजमा समावादी राजनीतिक दर्शन बोकेको एउटा पार्टी नेपाली काँग्रेस स्थापित गरेर सामाजिक मनोविज्ञान पनि बदल्न सके।
त्यो भनेको एउटा युग चाहिएको समय थियो। त्यसको खोजीमा बिपी थिए। त्यही युग निर्माणको सपना थियो बिपीसँग। आफैले भनेजस्तै राजनीति, साहित्य अनि जीवनको दर्शन, आदर्श र सिद्धान्तका कैयौ चौबाटाहरूमा बिपीको जीवन अलमलियो होला तर जुन युग निर्माणको सपनाले बिपीलाई कहिल्यै निदाउन दिएन त्योसँग लड्दालड्दै उनले सारा जीवनै समर्पण गरिदिए। त्यो भनेको कुनै एउटा शासक अनि शासनसत्ता वा व्यवस्थामात्रै होइन, एउटा सिङ्गो युगको परिवर्तन थियो। हरेक परिवर्तनका लागि कठोरभन्दा कठोर साधना चाहिन्छ। बिपीको साधना समाजवाद थियो, प्रजातन्त्र थियो। अनि त्यसका लागि राजनीतिलाई साधन बनाए र त्यसको साधक नेपाली काँग्रेस। जहाँ बिपीका जिउँदा जाग्दा बिम्बहरू अहिले पनि छन्।
बिपी आफैमा महान साहित्यकार पनि हुन्। आफै बाँचिरहेको सिङ्गो युग र त्यही समाजलाई चुनौती दिएर साहित्यको दर्शन जन्माएका बिपीले एउटै जीवनकालमा फरक फरक जीवन बाँचे। वास्तवमा बिपीलाई एउटै चिनारीमा सिमित गर्न सकिन्न। पहिचानको एउटै नाममा बिपीको महानता अट्दैअट्दैन। आफ्नै जीवनकालमा फरक फरक जीवन बाँचेका बिपीलाई आज त्यही समाजवादको ऐनामा मात्रै हेरिएको छ। एउटा साँघुरो घेरामा सिमित पारेर बिपीको पूर्ण चित्र देखिन्न। यस्तो सोच्नु भनेको बिपीलाई हामीले हेर्ने साँघुरो दृष्टिमात्रै हो।
बिपीको त्यही आदर्श अनि राजनीतिक दर्शनबाट जन्मिएको नेपाली काँग्रेस अहिले पनि देशको ऐतिहासिक राजनीतिक विरासत बोकेको पार्टी हो। देशको हरेक ऐतिहासिक परिवर्तनमा नेपाली काँग्रेसको आफ्नै योगदान छ। आफ्नै ऐतिहासिक महत्व छ। तर आज नेपाली काँग्रेस कहाँ छ? नेपाली काँग्रेसलाई डोर्याउनेहरू कहाँ छन्? बिपीको फोटो भित्तामा टाँसेर उनका सिद्धान्त र राजनीतिक फलाकिरहने र आफूलाई सच्चा अनुयायी ठान्नेहरूलाई आज भेट्दा त्यो बिपी मन कस्तो हुँदो हो? यसले सायदै आजको नेतृत्वलाई पोल्दो होला।
बिपीका सपनाहरू राजनीतिका दर्शनमा मात्रै होइन, साहित्यका हरेक अक्षरअक्षरमा कुँदिएका छन्। बिपीलाई पढ्नेहरूलाई आफुलाई विद्वान ठान्दो हुन्, उनलाई चाहनेहरू आफूलाई महान नेता सम्झदोंहुन् तर हामी कति बिपीको सच्चा अनुयायी बन्न सक्यौं? उनको तस्वीरअघि उभिएर छातिमा हात राखेर बिपीलाई सम्झिने हिम्मत त आजको नेतृत्वलाई सायदै होला। उनकै सपनाको गोलमटोल बाटोमा हिँडिरहेको नेपाली काँग्रेसले त्यसपछिका ६ दशक बिपीको नाममात्रै फलाकिरह्यो। न बिपीलाई बुझ्यो, न बिपीले बुझेको र देखाएको बाटोमा सरासर हिँड्नसक्यो। न आजको पुस्तालाई बिपी बुझाउनसक्यो।
समाजवाद भनेको भविष्यको एउटा लहर हो, अर्थात् हाम्रा कैयौ पुस्ताका लागि एउटा आदर्श समाजको परिकल्पना। यो भनेको तेस्रो विश्व अर्थात् नेपालजस्ता असंलग्न राष्ट्रहरूको एक स्वभावजन्य मित्र हो। समाजवाद अझ उन्नत शब्दमा भन्दा प्रजातान्त्रिक समाजवादको मियोबाट उछिट्टिएपछि नै ‘साम्यवाद’का भ्रमहरू बोकेर या त कम्युनिस्टहरू जन्मिन्छन् या कुनै तानाशास। त्यसैले समाजवाद भनेको आदर्श समाजको एउटा व्यवहारिक जीवन हो।
अनि समाजवादको एउटा मुख्य लक्ष्य भनेको समानता। र त्यसका दुई आयाम हुन्- आर्थिक र राजनीतिक समानता। यो भनेको कहिल्यै नभेटिने ‘साम्यवाद’को अभीष्ट होइन। बरु बिपीले देखेको त्यही आदर्श समाजको एउटा भ्रुण हो।
खासगरी बिपीको यही राजनीतिक आदर्शमा आफ्नो राजनीतिक जीवन बाँचिरहेको नेपाली काँग्रेसले अब साँच्चिकै बिपीले बनाएको प्रजातान्त्रिक समाजवादको त्यो बाटोमा आफूलाई ड्योर्याउनैपर्नेछ। हिँड्न त ढिला भइसक्यो अब कुद्नैपर्नेछ, कुदाउनैपर्नेछ। वर्षमा दुईचोटी बिपीका सिद्धान्त अनि उनको साहित्यको ऐनामा आफ्नो कुरुप अनुहार हेररमात्रै उनका सपना पूरा हुँदैनन् भन्ने अब नेपाली काँग्रेसको नेतृत्वले कठोर आत्मसमालोचना गर्नैपर्छ।
त्यसैले अब यसो गरौं, आफ्नो सिरानमा झुन्डिएको बिपीको तस्वीरमा लागेको धुलो होइन हरेक ‘समाजवादी’ले आफ्नो कुरुप अनुहार पुछौं- महामानव विपीलाई हार्दिक श्रद्धासमुन…।