डा. शोभाकर पराजुली
भारतको अस्पतालमा ‘जीवन-मृत्यु’सँग लडिरहेका बेला यता ‘आनन्दबहादुर’ को नामबाट एउटा ‘गद्दार पुष्पलाल’ भन्ने लिखत छापियो । २०३४ सालमा छापिएको त्यो लिखतका ‘आनन्दबहादुर’ नेकपा (चौथो महाधिवेशन) का महासचिव मोहनबिक्रम सिंह हुनुहुनुथ्यो । त्यही लिखत जसलाई त्यो बेला पार्टीले आफ्नो आधिकारिक दस्तावेज समेत बनायो ।
मोहनबिक्रम त अहिले पनि जिउँदो साक्षी नै हुनुहुन्छ । त्यसको मूल्याङ्कन आज उहाँले गरिरहनुभएको होला प्रजातन्त्रका खातिर काँग्रेस कम्युनिष्ट मिलेर एउटा उचाईंमा पुर्याएको त्यो क्रान्तिका साँच्चिकै ‘गद्दार’ को थियो ।
नेपाली भूमिमा प्रजातन्त्रका लागि क्रान्ति गर्ने भनेर कम्युनिष्ट पार्टीका लागि ‘प्रसव पीडा’ खेपेका ‘पुष्पलाल’माथि लागेको त्यो एउटा संगीन आरोपले पनि प्रस्ट पार्छ कि पुष्पलालले आफ्नो राजनीतिक जीवनमा कति ‘कोपभाजन’हरू बेहोर्नुपर्यो ।
र, पनि नेपालको प्रजातान्त्रिक आन्दोलनमा ‘वामपथ’का ‘गर्भसिद्धान्तकार’ मानिन्छन् पुष्पलाल । विश्व कम्युनिष्ट विचारधारा अर्थात् उग्रबाम बिचारलाई नेपालको माटो सुहाँउदो सिद्धान्तमा मिसाएका उही पुष्पलाल नै हुनुहुन्छ । जसले विश्व कम्युनिष्ट घोषणापत्रलाई नेपाली भाषामा उल्था गरेर आफ्ना कार्यकर्ताहरूलाई बाड्नुभएको थियो । अंग्रेजी र अरु पनि भाषामा पाइने त्यो कम्युनिष्ट घोषणापत्रको ‘नेपाली संस्करण’मा पुष्पलाल नै पहिलो हस्ताक्षर हुन् । र, सँगसँगै नेपाली कम्युनिष्ट आन्दोलनका पनि ।
छोराहरू राणाविरोधी आन्दोलनमा लागेपछि राणाहरूले उनका बाबुको जागिरमात्रै खोसेनन्, सर्वस्वहरणसमेत गरे । त्यो बेलादेखि भारतमै निर्वासित भएका पुष्पलालमात्रै होइन उहाँको सिङ्गो परिवारले नै नेपालमा प्रजातन्त्रका लागि ठूलो बलिदान दियो ।
यही परिवारको जेठो सन्तान गंगालाल श्रेष्ठ हुन् जसलाई राणाहरूले गोली हानेर मारे । यो पुस्ताको मानसपटलमा नेपालका ‘सहिद’हरू भन्नासाथ झुल्किने चार शीर्ष तस्बिरमध्ये एक उनै गंगालाल पनि हुन् । र, उही गंगालालका ‘माइला’ भाई हुनुहुन्छ पुष्पलाल ।
जसले आफ्ना दाजुलाई मार्ने ‘जहाँनिया’ राणा शासनका लागि लड्ने संकल्प गर्दै नेपालमा कम्युनिष्ट पार्टी स्थापनाका लागि संघर्ष अनि सारा जीवनै अर्पण गर्नुभयो ।
पुष्पलालका जीवनकथाहरू धेरै त लेखिएका छैनन् । तर उहाँका समकालीनहरूले कहिँकतै उनका बारेमा लेखेका आधारमा अहिले पनि भन्न सकिन्छ प्रजातान्त्रिक आन्दोलनमा फुलेको एउटा तीक्ष्ण सुवासिलो फूल नै थियो पुष्पलाल, जसलाई टिप्नका लागि कैयौ तीखा काँडाहरूले घोंचिनुपर्थ्यो । त्यसकै परिणाम थियो, २००७ सालको क्रान्ति । जहाँ पुष्पलालका तीखा विचार, रणनीति अनि नेपाली काँग्रेसको सामर्थ्य मिसिएको थियो ।
उनमाथि लेखिएका कतिपय कथा-उपकथाहरूमा कतै कतै उहाँका पारिवारिक कुराहरू उल्लेख छन् । त्यस्तैमध्ये कतै उहाँका दाजु गंगालालसँगको भेटको प्रसङ्ग पनि पाइन्छ । १९९७ मा गंगालाललाई भद्रगोल जेलमा राखिएको थियो । उहाँलाई राणाहरूले मृत्युदण्ड दिनुभन्दा एकदिन अघि भेट्न पुग्नुभएका पुष्पलाललाई गंगालालले भन्नुभएको थियो ‘मैले प्रजातन्त्रका निमित्त बालेको दीयो तैंले निभ्न दिने छैनस् माइला‘!’
कम्युनिष्ट बिचारधारा बोकेर राजनीति गरे पनि पुष्पलालले प्रजातान्त्रिक ध्रुबीय राजनीतिलाई कहिल्यै ‘दुश्मन’ ठान्नुभएन । बरु त्यो कालको राजनीतिक रजगजसँग जुध्नका लागि उहाँले काँग्रेससँग पनि मिल्ने नीति अपनाउनुभएको थियो ।
२००६ सालमा भारतमै निर्वासनमा रहेका बेला कोलकातामा उहाँले ‘नेपाल कम्युनिष्ट पार्टी’, गठन गर्नुभएको थियो । नेपाल र भारतमा रहेका तमाम नेपाली वामपन्थ धारका युवाहरूलाई बटुलेर उहाँले नेपालमा पनि त्यसरी बाम आन्दोलनको सुरुवात गर्नुभएको थियो ।
त्यो बेला उहाँले नेकपाको घोषणा पत्रमा लेख्नुभएको थियो- हामीले विश्व-प्रजातन्त्रीय गुटहरूसँग काँधमा-काँध मिलाएर अगाडि बढ्नुपर्दछ । अनि मात्र हामी मजदूर-वर्गको नेतृत्वमा पसिना चुहाउने जनताको प्रजातन्त्रीय राष्ट्र खडा गर्न सक्नेछौं‘ । नेपाली जनताले आखिरी साससम्म जनताको जनतन्त्र र समाजवादको निम्ति लड्नुपर्दछ‘।’
यो विचारधाराले पनि उहाँ विश्व कम्युनिष्ट विचारधाराबाट प्रभावित भएर कुनै जडवादी कम्युनिष्टमात्रै रहनुभएन । बरु समय र माटो सुहाउँदो सिद्धान्त अपनाएर नेपालका प्रजातान्त्रिक शक्तिसँग मिलेर प्रजातन्त्रकै निम्ति वामआन्दोलनलाई पनि समाहित गर्नुभयो ।
नेपालमा राणा र पञ्चायतविरुद्ध लामो संघर्षमा होमिनुभएका ‘महामानव’ बिपी कोइरालासँग पनि उहाँ धेरै निकट रहनुभयो । फरक विचारधाराको राजनीतिक बाटोमा भए पनि उहाँले बिपीलाई निकै आदर अनि सम्मान नै गर्नुहुन्थ्यो । बिपीले पनि उहाँलाई एक आदर्श पात्रका रुपमा लिनुहुन्थ्यो । बैचारिक बाटो अलि अलग थियो तर उहाँहरूको त्यो राजनीतिक र व्यक्तिगत आत्मीयताको परिणाम नेपालको प्रजातान्त्रिक लडाईं छिन्नभिन्न हुन पाएन ।
दुवै नेताहरूले भारतमै बसेर नेपालमा आन्दोलन र अभियानहरू अघि बढाउनुभयो । त्यो हिसाबमा नेपालमा प्रजातन्त्रका लागि सुरु भएको लडाईंलाई कसरी लैजाने भन्ने कतिपय रणनीतिहरूमा उहाँहरू दुबैको छलफल हुन्थ्यो ।
भारतबाट ‘मेलमिलाप’को नीति लिएर २०३३ साल पुस १६ गते बिपी नेपाल फर्किनुभएको थियो । फर्किने चाँजोपाँजो मिलाउँदै गर्दा पाँचदिन अघि बिपी र पुष्पलालबीच भारतको सारनाथमै भेट भएको थियो । त्यो भेटमा नेपालमा चलिरहेको प्रजातान्त्रिक आन्दोलनका बारेमा धेरैबेर कुराकानी पनि भयो ।
अनि त्यही बेला पुष्पलालले बिपीलाई नेपाल नफर्किन सल्लाह पनि दिनुभएको थियो । तर अब निणर्ायक ‘लडाईं’का लागि भन्दै बिपीले नेपाल फर्कीछोड्ने अठोट सुनाउनुभएको थियो ।
‘नेपालमा संकट निकै गहिरिइसकेको छ । हामी नफर्किए त्यो अझ गहिरो हुनेछ । मेरो स्वदेश फिर्ती राजासँग समर्पण होइन । संघर्ष पनि होइन । बरु यो बीचको मध्यमार्गी बाटो हो’ बिपीले त्यो बेला पुष्पलालाई पनि सम्झाउँदै भन्नुभएको थियो ‘बरु तपाईं पनि बिचार गर्नुहोस् । नेपालै फर्केर बीचधारबाट आन्दोलन अघि बढाउनुपर्छ।’ तर पुष्पलाल फर्किन मान्नुभएन । बरु भारतमै बसेर नेपालको आन्दोलनमा योगदान गर्छु भन्नुभएको थियो । बिपी भने त्यो बेला ‘मेलमिलाप’को नीति बोकेर नेपाल फर्किनुभयो ।
त्यो बेला राजाको पञ्चायती शासनविरुद्ध नेपालमा काँग्रेस र कम्युनिष्टहरू छुट्टाछुट्टै टुकुडीहरू बनाएर लडिरहेका थिए । त्यो एउटा निरंकुश पञ्चायतविरुद्धको लडाईं थियो । गन्तव्य त एउटै थियो जनताको प्रजातन्त्र र सार्वभौमशक्ति जनतामै फिर्ता गर्ने अनि बहुदलीय प्रजातन्त्रको स्थापना । त्यही गन्तव्य पाउनका लागि काँग्रेस-एमालेहरू भने अलग अलगबाटाहरूबाट दौडिरहेका थिए ।
आखिर पुग्नुपर्ने ठाउँ एउटै थियो, पछ्याइएका लक्ष्यहरू उस्तै थिए । एउटै अनि उही ठाउँ पुग्नका लागि अलग अलग बाटोमा कुदिरहेका यी आन्दोलनलाई एकीकृत रुपमा लैजाने प्रस्ताव पुष्पलालको थियो । बिपी कोइरालाहरूले पनि त्यो कुरा स्विकार गरेपछि २०३१-३२ सालतिरै पञ्चायतविरुद्ध काँग्रेस-कम्युनिस्टको संयुक्त आन्दोलन गर्ने रणनीति बनेको थियो ।
त्यसकै परिणाम कम्युनिष्ट पार्टीभित्र पुष्पलालका विरुद्ध गुटबन्दी सुरु भयो र उहाँलाई ‘गद्दार’सम्म घोषणा गरियो । कम्युनिष्ट छबि भए पनि प्रजातान्त्रिक बाटोबाटै आन्दोलन अघि बढाउनुपर्छ भन्ने मान्यता राख्ने पुष्पलाललाई उहाँहरूकै कतिपय ‘सहयोद्धा’हरूले इन्कार गर्न थाले । तर उहाँले अघि सारेको रणनीतिबाट काँग्रेस-एमाले एक भएर २०४६ सालमा पञ्चायती शासनको अन्त्य गरे अनि बहुदलीय प्रजातन्त्रको सुरुवात भयो ।
वि.सं १९८१ असार १५ गते रामेछाप जिल्लाको एउटा मध्यम परिवारमा जन्मिनुभएका पुष्पलाल आफैमा लोकतान्त्रिक चरित्रको हुनुहुन्थ्यो । २००६ सालअघि नै उहाँले वि.सं. १९९८ सालमा श्रेष्ठले प्रेमबहादुर कंशाकार, सम्भुराम श्रेष्ठ र सूर्यबहादुर भारद्वाजहरूसँग मिलेर ‘नेपाली प्रजातान्त्रिक संघ’ बनाएका थिए । राणाहरूविरुद्ध लड्न खडा गरिएको यो एउटा त्यस्तो प्रतिवद्ध संगठन थियो जसको ‘प्रतीज्ञापत्र’ पुष्पलालहरूले रगतको सहिछाप लगाएका थिए ।
२००४मा नेपाली राष्ट्रिय काँग्रेसले सुरु गरेको ‘नागरिक विद्रोह’को अग्रपंक्त्तिमा पनि पुष्पलाल, शम्भुराम श्रेष्ठ, स्नेहलता श्रेष्ठ तथा साहना प्रधानलगायतका नेताहरू हुनुहुन्थ्यो ।
नयाँ दिल्लीस्थित अल इण्डिया मेडिकल इन्स्टिच्युटमा उपचारार्थ भर्ना हुनुभएका पुष्पलालले जीवनको अन्तिमसम्म पनि पञ्चायतविरुद्ध मिलेरै लड्न सन्देश दिनुभएको थियो । मृत्युसैय्याबाटै उहाँले एउटा ‘भविष्यवाणी’ छोडेर जानुयो- काँग्रेस र कम्युनिस्टहरू मिलेर नलड्दासम्म पञ्चायत ढल्दैन अनि देशमा प्रजातन्त्र पनि आउँदैन‘ । २०३५ साल साउन ७ गते उहाँको त्यही अस्पतालमा मृत्यु भयो ।
अन्ततः पञ्चायतविरुद्ध दलीय एकताकै परिणाम हो २०४६ सालको जनआन्दोलन जहाँबाट नेपालमा आधुनिक प्रजातान्त्रिक युग सुरु भयो ।
राजनीतिक जीवनमा उहाँलेजस्ता उतार-चढावहरू भोग्नुभयो प्रजातन्त्रको लडाईंमा आफूलाई समर्पण गरेका एक नेतृत्वकर्ताका लागि त्यो एउटा भोग्नैपर्ने स्वभाविक नियति थियो । तर कम्युनिष्टको ‘कोर’ साइनोमा उहाँले गाँसेको प्रजातान्त्रिक धार नेपाली राजनीतिको इतिहासमा सधै चम्किलो नै रहिरहनेछ । जुनसुकै सिद्धान्त होस वा ‘वाद’हरू राजनीति गर्ने भनेकै जनताका लागि न हो ।
आजको युगको आँखाबाट हेरेर हामीले पुष्पलालको पुस्ताको आलोचना गर्दा उहाँहरूले बाँचेको समय र सन्दर्भ पनि ख्याल गर्नुपर्ने हुन्छ । युद्ध मैदानमा खटिएको सिपाहीलाई नै थाहा हुन्छ कतिबेला कुन चाल चल्नुपर्छ भनेर ।
त्यो प्रजातान्त्रिक आन्दोलनदेखि अहिले गणतन्त्रको युगसम्मै पनि हाम्रा लोकतान्त्रिक मूल्य मान्यताहरूमाथि अनेक रुपले प्रहार भइरहेका छन् । पटक पटक आन्दोलन गरेर हामीले प्राप्त गरेका उपलब्धीहरू जोगाउनका खातिर अहिले पनि पुष्पलालहरूले भनेजस्तै सहकार्य र सहअस्तित्वलाई आत्मसात गर्नैपर्छ । जय नेपाल ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर