डा. शोभाकर पराजुली

नेपालको शासन सत्तामा कब्जा गरेर २०४ वर्षसम्म नेपाली नागरिकलाई ‘रैती’ बनाएको जहाँनिया राणा शासनविरुद्ध क्रान्तिको बिगुल समाउँदा महामानव बिपी कोइराला ३६ वर्षका तन्नेरी थिए। आफूजस्ता युवाहरूलाई उनले ‘तरुण’ भन्थे। नेपाली काँग्रेसमा पछिमात्रै गठन भएको बिपी परिकल्पनाको त्यही आयाम थियो। राणातन्त्रको अन्त्य गर्दै बिपी ३६ वर्षमै गृहमन्त्री बने। इतिहासका अझ अघिल्ला पानाहरू पल्टाउने हो भने र तन्नेरी वयहरू ज्यानमा खेल्दै गर्दा २० वर्षमै त्यो बेला पृथ्वीनारायण शाहले नेपालको एकीकरण सुरु गरिसकेका थिए।

नेपालमा राणा शासन विरुद्धमात्रै होइन त्यो बेला दक्षिण एशियामामात्रै होइन विश्वका धेरै राष्ट्रहरूमा बिपी उमेरकै समकालीनहरूले क्रान्ति अनि राष्ट्रको नेतृत्व गरिरहेका थिए। विश्वमा चलिरहेको प्रजातान्त्रिक आन्दोलनको लहरले धेरै ‘तरुण’हरूलाई नेता बनाएको थियो र राष्ट्र अनि सरकारको नेतृत्व गर्ने अवसर पनि दिलाएको थियो। छिमेकी पाकिस्तानमा ३५ वर्षीया बेनजिर भुट्टो प्रधानमन्त्री नै भइसकेकी थिइन्। दक्षिण तथा पूर्वी एशियाका धेरै देशहरूमा चलेको प्रजातान्त्रिक आन्दोलनबाट धेरै त्यस्ता तन्नेरीहरू नेतृत्वमा थिए।

राणापछि फेरि जनताबाट राजाले खोसेको प्रजातन्त्रका लागि क्रान्ति छेंडेका बिपीले २०३६ सालमा टुडिखेलमा भएको एउटा विशाल जनसभालाई सम्बोधन गर्दै युवापुस्तालाई आफूसँगै तुलना गर्दै सम्झिएका थिए। र उनले त्यो बेला भनेका थिए ‘म भन्दा धेरै दु:ख पाएका र यातना सहेका, त्याग गरेका, तपस्या गरेका हाम्रो मुलुकमा सयकडौँ यङ्गमेन(युवा)हरू छन्। म त चिनिएको छु, अरूहरू त प्रजातन्त्रको जगमा त्यस्ता गडेका पत्थरहरू हुन् जसलाई कसैले छिन्दैन। प्रजातन्त्रको त्यो मन्दिरका तल गडेका जगमा रहेका ढुङ्गा जस्ता कति शहिदहरू भए, आजको उत्साहको दिनमा हामीहरूले तिनीहरूलाई सम्झिनुपर्छ, जसको त्याग र वलिदानबाट आज यस ठाउँमा म उभिएर तपाईँहरूसँग केही भन्न पाईरहेछु।’ यसबाट प्रस्ट हुन्छ बिपी गर्भसिद्धान्तको त्यो समाजवादका हरेक आत्ममा युवा हृदय धड्किन्थ्यो। र, ‘समाजवाद’को ऐना हेर्न नेपाली काँग्रेसको पंख बनेर उडेका युवाहरूले त्यो बेला प्रजातान्त्रिक लडाईंको आकाश थामेका थिए।

तर आज हामी देखिरहेका छौं, युवापुस्ता राजनीतिबाट अलग छ। बालापनबाट किशोरवय हुँदै गर्दा हरेक युवाको सपना विश्वका सम्पन्न देशमा सयर गरिरहेको हुन्छ। यसको अर्थ हो हामीले युवा पुस्तालाई राजनीतिमा जोड्नसकेका छैनौं। अर्थात् बिपीजस्ता दूरदर्शी नेतृत्वले परिकल्पना गरेको राष्ट्र निर्माणमा हामीले युवाकडीलाई जोड्न असफल भइसकेका छौं। आजको युवा राजनीतिको ‘र’ पनि सुन्न चाहन्न। राष्ट्र निर्माणका लागि युवाको यो हदसम्मको ‘नफरत’ अन्तत: देशकै भविष्यको अँध्यारो बाटो पनि हो। यसमा न आजको नेतृत्व चिन्तित छ न राष्ट्रको भविष्यप्रति युवा नै।

भारतका पूर्व राष्ट्रपति तथा बैज्ञानिक र दर्शनशास्त्री अब्दुल कलामले भनेका छन्- युवाको हौसला, उनीहरूको कौशल अनि समर्पणबाटै देशको भविष्य निर्माण हुन्छ। तर आज हामी हाम्रा तन्नेरी जमातले धामधम देश छोडेको टुलुटुलु हेरेर बसिरहेका छौं। अनि त्यसमै हामी रमाइरहेका छौं। आज राजनीतिमा युवा छैन, देशको नेतृत्वमा युवा छैन अनि देशमै युवा छैन। युवा नजोडिएका नेतृत्व अनि नीतिहरूले देशको कस्तो भविष्य निर्माण गर्लान् यो आफैमा एकदमै चिन्तनीय छ।

नेपालमा तथ्याङ्क हेर्ने हो भने कूल जनसंख्याको लगभग ४० प्रतिशत युवा छन्। संविधानले तोकिदिएको ‘युवा’ उमेरघेरालाई आधार मान्ने हो भने यो संख्या सिङ्गो देशका लागि भरपुर उर्जा हो। तर हाम्रा यी युवाहरू आज कहाँ छन्? विमानस्थलमा हरक्षण देखिने भीडमा युवाका सपनाहरू पनि त्यसैत्यसै उडिरहेका छन्। हामी भन्छौं युवा देशको भविष्य हो तर युवा भविष्यमात्रै होइन बरु वर्तमानको दर्पण पनि हो। आजको युवा काँधले उचाल्न सकेमात्रै देश बन्नसक्छ।

नेपाली राजनीतिक इतिहासमा भएका हरेक परिवर्तनका लडाईंहरू युवा काँधले नै थामेका थिए। अग्रमोर्चामा शासकविरुद्ध ज्यानको बाजी थापेका उनै युवाजोशका कारण देशमा प्रजातन्त्र आयो। लोकतन्त्र र गणतन्त्रसम्म आइपुग्दा त्यस्ता धेरै युवाको रगत र बलिदानले हाम्रो पुस्ता सिञ्चित भएको छ। २०५२ सालमा माओवादीले सुरु गरेको शसस्त्र युद्धमा सयौं युवाले बलिदान दिए। त्योभन्दा अघि जाँदा २००७ सालको आन्दोलन होस् वा त्यसपछि पञ्चायतविरुद्ध ३० वर्ष लडाईं वा २०५९ पछि राजा ज्ञानेन्द्र शासनविरुद्ध सडकमा ओर्लिएका युवा। यी सबका सपनाहरूको मूल्य त हामीले चुकाउन सक्दैनौं। कम्तीमा बलिदानी ती युवाका सपनाखातिर शासनसत्तामा बसिसकेपछि हामीले सोच्नुपर्ने थियो- त्यो बलिदानको बदला उनीहरूले के पाए? अनि राष्ट्रले के पायो? अन्तत: शासकप्रति बढिरहेको चरम निराशाका कारण युवा देश छोड्नमात्रै बाध्य छैनन् बरु राजनीतिप्रति नै यति वितृष्णा भरिइसकेको छ कि आजको युवापुस्ता राजनीतिका कुरासमेत सुन्न चाहन्न।

परिवर्तनको त्यो बेजोड युवापुस्तालाई हामीले सत्ता चुम्ने भर्‍याङमात्रै बनायौं। उनीहरूको त्याग, बलिदान र सपनाहरूलाई हामीले त्यसपछि स्वाट्टै छोडिदियौं। आज अनि भोलिका लागि तयार हुँदै गरेको पुस्तालाई राजनीतिमा आकर्षित गर्नका लागि कुनै पनि राजनीतिक दलहरूसँग त्यस्तो कुनै नीतिहरू छैनन्। विश्वका कतिपय देशहरूमा हेर्‍यौं भने धेरै त्यस्ता राष्ट्रहरू समृद्धिको आकाशमा उडिरहेका छन् जहाँ युवापुस्ताले राष्ट्रको नेतृत्व गरिरहेको छ। नीति निर्माण तहमा युवा वर्गलाई सुनिश्चित गर्नका लागि नेपालमा पनि २०७२ सालमा राष्ट्रिय युवा परिषद् गठन भएको छ। तर त्यो पनि कर्मकाण्डीमात्रै भयो। युवाका लागि चाहिने नीति निर्माणको तहमा यो पुस्ता होइन उही प्रचीन पुस्ता नै छ। त्यसले न युवाको भावना बुझ्छ न, त्यसअनुसार नीतिनिर्माण गर्छ।
यसका लागि तर्जुमा गरिएका लक्ष्य र उद्देश्यहरूले राज्यका हरेक क्षेत्रमा युवापुस्ताको नेतृत्वदायी र परिणाममुखी सहभागिता सुनिश्चित गर्नु नै हो। खासगरी राष्ट्रियरुपमा तयार पारिएका युवा नीतिमा निम्न कुराहरू उल्लेख छन्-

– देश निर्माण तथा राष्ट्रिय विकासमा युवा वर्गको भूमिका र सम्भाव्यताको विकास र विस्तार गर्ने,
– युवालाई राष्ट्र एवं राष्ट्रियता, नागरिक तथा शासन प्रणालीप्रति प्रतिवद्ध र समर्पित बनाउदै उत्तरदायी तथा जवाफदेही बनाउने,
– युवा वर्गमा सिर्जनशिलता, उद्यमशिलताको विकास गर्दै उनीहरूमा रहेको क्षमताको उजागर गर्ने,
– नैतिक, सुसंस्कृत, सिर्जनशील तथा व्यवस्थायिक रूपमा दक्ष युवा तयार पार्ने,
– राष्ट्रका राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रका सबै तहका नीति निर्माण, निर्णय एवं कार्यान्वयन प्रक्रियामा सहभागी गराउने,
– लैङ्गिक संवेदनशिलतामा आधारित अर्थपूर्ण संलग्नताका माध्यमबाट नेतृत्व क्षमता विकास गरी युवालाई राष्ट्रिय विकासको संवाहक शक्तिका रूपमा स्थापित गर्ने,
– शिक्षा आर्जनका क्रममा रहेका समाजमा आनो पहिचान स्थापित गर्ने संवेदनशील अवस्थामा रहेका युवाको शिक्षा, रोजगारी, वृत्ति विकास लगायतका वैयक्तिक एवं सामाजिक विकासमा सघाउने,
– प्राथमिकता तथा विशेष प्राथमिकताको समूहमा रहेका युवालाई सकारात्मक विभेदका माध्यमबाट सशक्त गरी विकासको मूल प्रवाहमा ल्याउने।
तर आज हाम्रा यी नीतिविपरीत युवाशक्ति विदेशतिर पलायन भइरहेका छन्। त्यसलाई रोक्नका लागि हामीले कुनै नीतिहरू कार्यान्वयन गरिरहेका छैनौं। बरु सस्तो लोकप्रियताका लागि युवालाई विदेशिन प्रेरित गरिरहेका छौं। यसले देशमा केही पैसा भित्रिएला, केही परिवारहरूको आर्थिक अवस्था अलिमाथि उठ्ला तर देशको समग्र भविष्य के हुन्छ? हाम्रा खेतबारीहरू बाझै छोडेर आज युवाहरू धमाधाम देश छोडिरहेका छन्। गाउँमा मलामीसमेत पाइन छोडिसके। यस्तो दयनीय अवस्था कसरी आयो? यसमा राजनीतिक दलहरू गम्भिर भएर सोच्नुपर्ने भइसकेको छ।

जसरी परिवर्तनका लागि युवाशक्तिको त्यो निर्भिक ज्वाला प्रयोग भयो आज त्यो परिवर्तन संस्थागत गर्नका लागि पनि युवाशक्तिको जरुरी छ। राज्यका हरेक नीति, निर्माण र निर्णायक भूमिकामा युवाको सहभागिता सुनिश्चित नभएसम्म हामीले हाम्रा परिर्वतनहरू संस्थागत गर्न सक्दैनौं।

आफ्नो जवानीका सारा सपनाहरू लुटाएर परिवर्तनका लागि बलिदान दिने तमाम युवाका ती सपनाहरूसँग खेलवाड गरिरहने छुट अब नराखौं। लोकतन्त्रको विकल्प अझ उन्नत र समृद्ध लोकतन्त्र नै हो। अनि त्यसको सबैभन्दा सुन्दरता भनेको युवा नै हो। जसले त्यो तन्नेरी काँधमा राष्ट्रको भविष्यको गह्रुङ्गो जिम्मेवारी पनि सजिलै बोक्नसक्छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर