डा. शोभाकर पराजुली
केहि दिनअघि कान्तिपुर दैनिकको पहिलो पेजमा एउटा मुख्य समाचार छापियो- गुन्डा सुध्रिए कि राजनीति बिग्रियो? प्रश्नवाचक यो समाचारबाट आम नागरिकले आफ्ना मनमा एउटै जवाफ खेलाए- गुन्डा सुध्रिएका होइनन्, राजनीति बिग्रिएको हो। नेकपा एमाले र नेपाली काँग्रेस मिली बनाएको नयाँ सत्ता समिकरणपछि प्रदेशहरूमा नियुक्त भएका मन्त्रीहरूको आपराधिक पृष्ठभूमिमा तयार पारिएको यो समाचारले नेपाली राजनीतिको एउटा ‘पत्तुर’ पाटोलाई उदाङ्गो पारिदिएको छ। यद्यपि हाम्रो राजनीतिमा यी सबै कुरा नयाँ र नौला भने होइनन्।
जब राजनीतिले समाजलाई निर्देशित गर्न थाल्छ वा समाजलाई राजनीतिले आफ्नो मुठ्ठीमा कस्न थाल्छ अनि राजनीतिबाट ‘नीति’ स्वत: अलग हुन्छ। त्यहाँ केबल ‘राज’मात्रै बाँकी रहन्छ। त्यो राज गर्न समाचारमा भनिएजस्तै ‘गुन्डा’हरू नै अघि लाग्छन्। गुन्डागर्दीमा राजनीति र राजनीतिमा गुन्डागर्दी नेपाली राजनीतिका लागि नयाँ होइन, यो आयामले नेपाली राजनीति र समाजलाई छोपेको धेरै भइसकेको छ। बिगत ३० वर्षयताको नेपाली राजनीतिलाई नियाल्ने हो भने सजिलै भन्न सकिन्छ यहाँ गुन्डा सुध्रिएका छैनन्, यहाँ राजनीति अहिले आएर बिग्रिएको होइन। राजनीति त यस्तो भाष्य भइसकेको छ कि अब बिग्रिएकाहरूले मात्रै राजनीति गर्छन् भन्ने भाष्यले नयाँ पुस्ताको कलिलो दिमागमा एउटा नैराश्यको बिम्ब बनिसकेको छ। उसै पनि राजनीतिलाई ‘हेट’ गर्ने आजको पुस्तामा हामीले निर्माण गरिदिएको यो बिम्बले भोलि राजनीति झन् उनै ‘गुन्डा’हरूकै मुठ्ठीमा जान्छ। अनि त्यसैबाट हामी फेरि शासित हुनुपर्ने दिन धेरै टाढा छैनन्।
महामानव बिपी कोइरालाले एकपटक भन्नुभएको थियो- ‘देशमा प्रजातन्त्र पुनर्स्थापना भएपछि सुकिला लुगा लगाउने र चिल्ला गाडीमा चढ्नेहरूको बिगबिगीले प्रजातन्त्र सङ्कटमा पर्नेछ, प्रजातन्त्रको स्थायित्वका लागि इमानदार कार्यकर्ताले पुनः संघर्ष गर्नुपर्नेछ’ नीति हराएको ‘राज’मा समाजका सुकिलामुकिलाहरूले कसरी राजनीतिलाई आफ्नो मुठ्ठीमा पार्नसक्छन् भन्ने बिपीको यो भनाइ आजको राजनीतिक बिम्ब हो। राजनीतिलाई जब ‘शक्ति’का रुपमा स्थापित गरिन्छ अनि हामीले भोग्ने नियति भनेको यस्तै नै हुन्छ। अहिलेको राजनीति अनि हरेक पुरान-नयाँ पार्टीहरू हेर्यौं भने प्रस्ट हुन्छ राजनीति उनै सुकिला मुकिलाको मुठ्ठीभित्र छ। अनि त्यो मुठ्ठीभित्र इमान्दार राजनीतिक कार्यकर्ताहरू सास छ। त्यो सास जो हरेक सामान्य नागरिकको हो। नेपालमा पछिल्ला दिनमा भएका हरेक घटनाक्रमहरूले देखाइरहेका छन्, राजनीतिमा लागेकाहरू कसरी आफ्नो आपराधिक तस्विरलाई राजनीतिको त्यही ‘सुनपानी’ले चोख्याउन खोज्दैछन्।
नेपाल कहिल्यै कुनै विदेशीको ‘गुलाम’ भएन। नेपाली कहिल्यै कसैका गुलाम भएनन्। यहाँका नागरिकलाई यहिँका शासकहरूले कुनै बेला ‘रैति’ बनाए। हाम्रा पुर्खाहरूले तिनै तानाशाहहरूसँग पटक पटक लड्दै लड्दै यो पुस्तालाई स्वतन्त्रता दिलाएका हुन्। त्यसका लागि हाम्रा पुर्खाले आफ्नो जीवनसमेत अर्पण गरे। खासगरी २०४६ पछि नेपालले उदार प्रजातन्त्रको अभ्यास गर्न थाल्यो। तर त्यसमा पनि नेपालीले लामो समय आफ्नो स्वतन्त्रताको पूरा उपयोग गर्नै पाएनन्। राजनीतिक परिस्थितिहरू बदलिन थाले। हुँदा हुँदा आन्तरिक युद्ध अनि दरबारको राजनीतिक महत्वाकांक्षाले फेरि यो पुस्ताले पनि लडाईं लड्नुपर्यो। अन्तत: व्यवस्थै फेरियो। हामी प्रजातन्त्रबाट लोकतान्त्रिक गणतन्त्रसम्म आइसक्यौं। र करिब दुई दश यो यात्रामा पनि हिँडिसक्यौं। तर त्यसबाट आम नागरिकले के पाए? यो एउटा स्वभाविक प्रश्नको सजिलो उत्तर पनि आज हाम्रा राजनीतिज्ञहरूसँग छैन।
प्रजातन्त्र मात्रै कुनै शासकहरूबीच लेखिएका सन्धी र सम्झौताका दस्तावेज होइनन्। कुनै ‘वाद’ वा कुनै ‘तन्त्र’ले मात्रै जनताको अवस्था फेर्न सक्दैन। त्यसैले बिपीले भन्नुभएको थियो- साम्यवादमा प्रजातन्त्र थपिएदिए समाजवाद हुन्छ र समाजवादबाट प्रजातन्त्र झिकिदिए साम्यवाद हुन्छ। यो भनाइको अर्थ के हो भने हरेक वादको अन्तिम लक्ष्य वा गन्तव्य भनेकै जनताको सर्वोपरी हो। तर यी तन्त्रहरूको रटानले मात्रै समृद्धि आउँदैन। समृद्धि भनेको गगनचुम्बी महल वा चौडा सडकहरूको आयतनमात्रै होइन। वा कुनै तामझामको भव्यता होइन। राष्ट्र अनि नागरिकको समृद्धि भनेको उसको जीवनशैलीको सन्तुष्टी हो। वा उसको महसुस हो। जनताको खुसीमै ती तन्त्र वा वादहरूका आयतन नापिन्छन्। र, यो त्यहाँमात्रै सम्भव हुन्छ जहाँ हामी ‘नीति’ जोडिएको राजनीतिमा हुन्छौं।
तर आज राजनीति, राजनीति रहेन। यो त अर्कै नीति भइसकेको छ। राजनीति भनेको आफ्ना अपराधहरू लुकाउने एउटा बैधानिक ‘तिजोरी’ भइसकेको छ। त्यसमा हाम्रा नेताहरू नै मुख्यजिम्मेवार छन्। जब नेतृत्व खराब हुन्छ अनि राजनीति सप्रिने त कुरै हुँदैन। जब राजनीतिलाई सत्ता र शक्तिका रुपमा अभ्यास गरिन्छ अनि त्यहाँ आमनागरिकका सवालहरू मात्रै राजनीतिका मुद्दा बनिदिन्छन्। जनताले जनताका लागि जनताद्वारा गरिने शासन…वाला मन्त्र त केबल राजनीतिको कर्मकाण्डमात्रै बनिदिन्छ। राजनीतिलाई शक्तिका रुपमा प्रयोग गर्ने हाम्रा नेतृत्वहरूकै कारण हो समाजमा अपराध अनि अराजकता फैलाइरहेकाहरू यसको ओत खोज्दै आउने। उनीहरूसँग पैसा हुन्छ, शक्ति हुन्छ। अनि राजनीतिमा सजिलै ‘स्पेस’ पाउँछन्। नीति निर्माण तहमा पुगेका यस्ता दिमागहरूले हाम्रा पुस्ताको कस्तो भविष्य कोर्लान्? राजनीति भनेको आजका लागि होइन, यो एउटा सिङ्गो युग र पुस्ता निर्माणका लागि गरिने कर्म हो।
‘हाम्रो देशमा १०० मा नब्बे जति मानिसहरु गरिब छन्। कुटी कोदालो गरेर गाउँमा बस्छन्, जसलाई खान लाउन पुग्या छैन। नेपाल भनेको तिनै १०० मा नब्बे मानिस हुन्। जब म नेपालको कल्पना गर्छु, त्यसबेला तिनै गरिब दाजुभाइहरुको तस्बिर मेरा अगाडि आउँछ। मैला लुगा लगाएको र रोगी अनुहारको तस्बिर। अनि मलाई लाग्छ, यी रोगी खान नपाएको अनुहार पो मेरो देश हो। त्यसो हुनले त्यहि खान नपाएको पेटमा अन्न जाओस्, हाँस्न नपाएको ओठमा हाँसो आओस्, रोगीले औषधिमूलो पाओस्, केटाकेटीले पढ्न पाउन भनेर नै हामी राजनीतिमा लागेका हौँ। मन्त्री हौँला, ठूलाठूला कुर्सीमा जाऔँला भनेर राजनीतिमा लागेका होइनौँ’ बिपीको यो राजनीतिक आदर्श मात्रै एउटा सिद्धान्तबाट जन्मिएको आदर्शमात्रै थिएन। यो मात्रै बिपीको कल्पना वा सपनामात्रै थिएन। यो नेपाली समाजको एउटा बिम्ब थियो। आज पनि त्यही नै हो। बिपीको यो राजनीतिक आत्ममन्थन नेपाली राजनीतिको एउटा त्यस्तो दर्शन थियो जहाँ भुँईमान्छेहरूको तस्बिर हुन्थ्यो।
हामीले सिकेको राजनीतिक यही नै हो। तर हामीले हाम्रा पुस्तालाई कस्तो राजनीति सिकाउँदैछौं? कस्तो राजनीति गर्दैछौं? अनि कसका लागि र किन राजनीति गर्दैछौं भनेर अब हरेक राजनीतिक नेतृत्वले आफ्नो छातिमा हात राखेर क्रुर समीक्षा गर्नुबेला भइसकेको छ। आफैमा निराशा भइरहेको अनि आशा हराइरहेको यो समाजमा राजनीतिले भित्र्याएको यो हदसम्मको कर्मले हाम्रो आगामी पुस्ता कुनै पनि हालतमा थामिदैंन। यो यथार्थतालाई हेक्का राखेरै त्यो बिपीले राजनीतिक आदर्शको त्यो बिम्ब परिकल्पना गर्नुभएको थियो। त्यो युगमा जन्मिएका बिपीले आफूभन्दा कैयै जुगपरको पुस्तालाई सम्झेर राजनीतिक आदर्शहरूको परिकल्पना गर्नुभयो। तर उहाँका गोरेटाहरूलाई लत्याउँदै आज हामी राजनीतिको कुन मार्गमा हिँडिरहेका छौं? अनि हाम्रो पुस्तालाई कतातिर डोर्याइरहेका छौं? जहाँ छौं अब त्यहीँ रोकिएर एकपटक सोचौं। राजनीति धेरै धमिलो भइसक्यो।
बिपीले भनेजस्तै राजनीति भनेको ‘मोक्ष’को मार्ग होइन। यो अपराध लुकाउने ‘तिजोरी’ पनि होइन। अनि यो शक्तिको अभ्यास गर्ने ‘रिङ्ग’ पनि होइन। आफ्ना अपराधहरू चोख्याउने ‘जलारी’का रुपमा प्रयोग गर्न खोज्ने समाजको यो वर्गलाई राजनीतिक रंग घसिदिने काम अबको नेतृत्वले तत्काल बन्द गरोस्। यही प्रसङ्गमा बिपीले भन्नुभएको थियो- ‘एउटा नदी समुद्रमा मिसिए केही फरक पर्दैन, तर समुद्र नदीमा मिसिन आए नदीको अस्तित्व के हुन्छ?’ राजनीति भनेको एउटा त्यस्तै सङ्लो समुद्र हो। जहाँ अनेकखाले नदीहरू मिसिन आउँछन्। तर नेतृत्वले ख्याल गर्नुपर्छ धमिला नदीहरूले त्यो सङ्लो समुद्र घेर्न थाले भने उसकै अस्तित्व के होला? अर्धविकसित अनि अर्धचेतयुक्त यो समाजमा अलि हुनेखाने र चनाखो वर्गले गरिरहेको त्यो समुद्रा धमिल्याउने प्रसासलाई हाम्रा नेतृत्वले अझ मलजल गर्ने होइन बरु समयमै किनारा लगाउनु नै बेश हुन्छ। त्यसका लागि धेरै ढिला नगरौं। राजनीतिमा अपराधको रंग अनि अपराधलाई राजनीतिले नरंग्याऔं।