२५ भदौ,भारत । भारतको आन्ध्र प्रदेशस्थित पलनाडु जिल्लाका चिकित्सकहरूले एक ३३ वर्षीया महिलाको पेटबाट १४ वटा कलम, ५ वटा काठका चम्चा र एउटा मैनबत्ती सफलतापूर्क निकालेका छन्।
छाती र पेट दुख्ने समस्या भएपछि परिवारले उनलाई नरसाराओपेटस्थित माताश्री अस्पतालमा भर्ना गरेका थिए। स्वास्थ्य परीक्षणका क्रममा पेटभित्र अनौठा वस्तुहरू देखिएपछि सर्जिकल विशेषज्ञ डा. पी. रामचन्द्र रेड्डीको टोलीले ल्याप्रोस्कोपिक प्रविधिबाट शल्यक्रिया गरी ती सामान बाहिर निकालेको हो।



निकालेका वस्तुमध्ये एउटा कलमको बिर्को (क्याप) नभएकाले त्यसले पेटको भित्री भागमा चोट पुर्याएको चिकित्सकहरूले बताएका छन् । विगत १० वर्षदेखि मानसिक स्वास्थ्य समस्याबाट पीडित ती महिलाले ती वस्तु कसरी निलिन् भन्ने विषयमा अनुसन्धान भइरहेको छ। दुई महिनाअघि श्रीमान्सँग सम्बन्धविच्छेद भएकी ती महिलाको हालको स्वास्थ्य अवस्थामा भने सुधार भएको छ ।









