९ असोज, बारा। मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री महमद समीरले पर्सास्थित पूर्वाधार विकास कार्यालयको अनुगमन तथा निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा मन्त्री समीरले कार्यालयमा कार्यरत कर्मचारीहरूको अवस्था, हाल सञ्चालनमा रहेका तथा आगामी दिनमा अघि बढाइने विकास योजनाहरू र कार्यालयको समग्र कार्यसम्पादनबारे विस्तृत जानकारी लिनुभएको थियो।
अनुगमनका क्रममा कार्यालयका जिम्मेवार पदाधिकारीहरूले मन्त्री समीरलाई प्रशासनिक तथा प्राविधिक अवस्थाबारे जानकारी गराएका थिए। प्रशासन फाँटका रामप्रवेश यादवले कर्मचारी विवरण र प्रशासनिक अवस्थाबारे स्पष्ट पार्नुभएको थियो भने इन्जिनियर इनरजित महतोले सञ्चालित र कार्यान्वयनको चरणमा रहेका योजनाहरूको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा कार्यालय प्रमुख राजेशलाल कर्णले मन्त्री समीरलाई फूलमाला र दोसल्ला ओढाएर स्वागत एवं सम्मान गर्नुभएको थियो।



निरीक्षणपश्चात् मन्त्री समीरले कार्यालयका कर्मचारीहरूलाई सम्बोधन गर्दै प्रचलित कानुन, नियम तथा कार्यविधिको पूर्ण पालना गरेर जिम्मेवारीपूर्वक काम गर्न कडा निर्देशन दिनुभयो। उहाँले विकास निर्माणका योजनाहरूको कार्यान्वयन गर्दा कामको गुणस्तर, पारदर्शिता र प्रभावकारितालाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा विशेष जोड दिनुभयो।
प्रदेश सरकारले अघि सारेका पूर्वाधार विकासका योजनाहरू समयमै र प्रभावकारी रूपमा सम्पन्न गर्न कार्यालय र कर्मचारीको भूमिका महत्त्वपूर्ण हुने मन्त्री समीरको भनाइ थियो। उहाँले सर्वसाधारण तथा सेवाग्राहीलाई सहज र झन्झटरहित सेवा प्रवाह गर्न निर्देशन दिनुभएको उक्त अनुगमन कार्यक्रममा मन्त्रीका स्वकीय सचिव रुतम अन्सारी लगायत कार्यालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो।









