१३असोज, बारा। बाराको सिम्रौनगढ नगरपालिका क्षेत्रबाट सशस्त्र प्रहरी बलको टोलीले दुई थान कटुवा पेस्तोल र गोलीसहित एक जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२, अमृतगञ्ज निवासी शिल्त महतोका छोरा अन्दाजी ५० वर्षीय जयप्रकाश प्रसाद कुशवाहा रहेका छन्।
सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाका आधारमा बीओपी गोलागञ्जबाट खटिएको टोलीले सिम्रौनगढ नगरपालिका–६ स्थित सलेमपुर क्षेत्रमा सोमबार शंकास्पद अवस्थामा चेकजाँच गर्दा कुशवाहालाई नियन्त्रणमा लिएको हो।



विशेष सुराकीका आधारमा गरिएको उक्त सुरक्षा जाँचका क्रममा पक्राउ परेका कुशवाहाको साथबाट दुई थान कटुवा पेस्तोल, पाँच थान गोली र हिरो कम्पनीको एक थान मोबाइल समेत बरामद गरिएको छ।
उक्त घटनाबारे पुष्टि गर्दै सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हेडक्वार्टर बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक विक्रम मणि अधिकारीले पक्राउ परेका कुशवाहालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको जानकारी दिएका छन्।









