१३ असोज, बारा । बाराको सदरमुकाम कलैयास्थित दरबार होटलमा मंगलबार बिहान १० बजेदेखि नेपाली कम्युनिष्ट पार्टी बारा जिल्ला कमिटीको आयोजनामा एकता भेला तथा प्रशिक्षण कार्यक्रम भइरहेको छ।
‘संसारका श्रमिक एक होऔँ’ भन्ने मूल नाराका साथ सुरु भएको उक्त कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपाललगायतका शीर्ष नेताहरूको उपस्थिति रहेको छ। कार्यक्रममा जिल्ला तथा स्थानीय तहका नेता एवम् कार्यकर्ताहरूको बाक्लो सहभागिता रहेको छ।



पार्टी एकीकरणपछि जिल्ला स्तरमा संगठनलाई सुदृढ र व्यवस्थित बनाउनुका साथै वैचारिक तथा संगठनात्मक दिशानिर्देश गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। पार्टीले देशभरका ७७ वटै जिल्लामा एकता भेला तथा प्रशिक्षण सञ्चालन गर्ने अभियानअन्तर्गत बारामा पनि यो कार्यक्रम आयोजना गरेको जनाएको छ।









