१४ असोज, बारा। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बारा क्षेत्र नं. ४ का साथै प्रदेशसभा ‘क’ र ‘ख’ मा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको छ। सहमति र सहकार्यको वातावरणमा सम्पन्न यस प्रक्रियाबाट क्षेत्रीय सभापतिमा लुकेश सिंह निर्वाचित हुनुभएको छ। त्यसैगरी, प्रदेशसभा ‘क’ को सभापतिमा छबिलाल शर्मा र प्रदेशसभा ‘ख’ को सभापतिमा विजय गुप्ता सर्वसम्मत रूपमा चयन हुनुभएको छ।
सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएपछि नेपाली कांग्रेसकी युवा नेत्री मेघा शाहीले सामाजिक सञ्जाल फेसबुकमार्फत निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले सर्वसम्मत नेतृत्व चयन हुनुले पार्टीभित्र आपसी एकता, विश्वास, सहकार्य र सहमतिको सकारात्मक एवम् सुदृढ सन्देश प्रवाह गरेको उल्लेख गर्नुभएको छ।



नेत्री शाहीले फरक विचार र दृष्टिकोणलाई सम्मान गर्दै समाजका सबै पक्षलाई समेटेर अघि बढ्ने राजनीतिक संस्कारले मात्र संगठनलाई थप बलियो, गतिशील र एकताबद्ध बनाउन सकिने बताउनुभएको छ। आगामी दिनहरूमा नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूबीच आपसी सद्भाव र समन्वयलाई मजबुत बनाउँदै पार्टी संगठनलाई तल्लो तहसम्म सुदृढ र जनमुखी बनाउनुपर्नेमा उहाँले विशेष जोड दिनुभएको छ।
“एकता नै शक्ति हो” भन्ने मूल मर्मलाई आत्मसात् गर्दै नेपाली कांग्रेसलाई अझ ऊर्जाशील र संगठित बनाउन नवनिर्वाचित नेतृत्व सफल हुने विश्वाससमेत उहाँले व्यक्त गर्नुभएको छ। साथै, सहमति र सर्वसम्मतिको वातावरण निर्माण गर्न अहम् भूमिका खेल्ने तथा सहयोग पुर्याउने सम्पूर्ण नेता र कार्यकर्ताहरूप्रति नेत्री शाहीले हार्दिक धन्यवाद एवम् आभार प्रकट गर्नुभएको छ।









