१७ असोज, काठमाडौं। काठमाडौँमा नक्कली लेबल र नयाँ मिति राखेर म्याद गुज्रिएका खाद्य सामग्री बिक्री गर्ने गिरोह पक्राउ परेको छ। काठमाडौँको चन्द्रागिरि नगरपालिका-१५ तिनथानास्थित सिद्धि विनायक खाद्य स्टोरमा म्याद सकिएका खाद्यान्नमा नयाँ मिति र नक्कली ब्रान्डको लेबल लगाएर बजारमा पठाउन लागिएको विशेष सूचनाका आधारमा प्रहरी र गुण नियन्त्रण विभागको संयुक्त टोलीले छापा मारेको हो।
प्रहरी र खाद्य नियन्त्रण विभागको टोलीले अनुगमनका क्रममा दुई जनालाई रङ्गेहात नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा बाराको प्रसौनी गाउँपालिका-१ घर भई हाल तिनथाना बस्ने ४० वर्षीय विजेन्द्र साह र पर्साका ४९ वर्षीय अखिलेश प्रसाद कलवार रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँ र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले मंगलबार अनुगमन गर्दा उनीहरू म्याद गुज्रिएका र मिति नखुलेका सामग्रीमा पुन: लेबलिङ गरिरहेको अवस्थामा भेटिएका थिए।



छापा मार्ने क्रममा प्रहरीले घटनास्थलबाट ठूलो मात्रामा म्याद गुज्रिएका खाद्यान्न सामग्रीहरू बरामद गरेको छ। बरामद गरिएका खाद्यान्नहरूमा म्याद गुज्रिएका काजु, पेस्ता, बदाम (एल्मण्ड), कालो भटमास, मकै र हरियो केराउ लगायतका दैनिक उपभोग्य वस्तुहरू रहेका छन्। उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्दै यस्ता अखाद्य सामग्री बजारमा पठाउन लागिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।
अवैध धन्दामा प्रयोग गरिएका प्राविधिक तथा प्याकेजिङ उपकरणहरू समेत प्रहरीले जफत गरेको छ। घटनास्थलबाट पुन: नयाँ मिति छाप्ने मेसिन, बोरा सिलाउने मेसिन, विभिन्न ब्रान्डका नक्कली स्टिकरहरू, ल्यापटप र प्रिन्टर नियन्त्रणमा लिइएको छ। प्रहरीले पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ।









