१७ असोज, बारा।उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासबाट जारी परमादेशपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बारा क्षेत्र नं. २ का सांसद चन्दन कुमार सिंहसहित १४ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा मुद्दा दर्ता भएको छ। देवताल गाउँपालिका–५ का ३१ वर्षीय गनपत कुमार महतोको जाहेरीका आधारमा गत असोज ६ गते प्रहरीले ‘भेदभाव तथा अपमानजनक व्यवहार’ कसुरमा यो मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको हो।

जाहेरीकर्ता महतो देवताल गाउँपालिकाका करार सेवाका सुपरभाइजर हुन्। पालिकाभित्र भएका अनियमितता तथा विकास निर्माणका काममा पुर्‍याइएको अवरोधको विरोध गर्दा २०८१ कात्तिक २७ गते सांसद सिंहको अगुवाइमा आफूलाई सामाजिक बहिष्कार गर्ने निर्णय गराइएको आरोप उनले लगाएका छन्।

यसका साथै, स्थानीय तहमा परेको उजुरीका कारण आफू ७ दिनको निलम्बनमा परेको र परिवारसहित गाउँका धार्मिक-सामाजिक कार्यक्रम, विवाह तथा सार्वजनिक स्थलहरूमा सहभागी हुन रोक लगाइएको महतोको भनाइ छ। विपक्षीहरूले चरित्र हत्या गर्ने उद्देश्यले प्रलोभनमा पारी कुप्रचार गरेको दाबी गर्दै प्रमाणका रूपमा सामाजिक बहिष्कारका निर्णयका प्रतिलिपिहरूसमेत जाहेरीमा संलग्न राखिएका छन्।

यसअघि प्रहरीले जाहेरी दर्ता नगरेपछि पीडित पक्ष अदालत पुगेका थिए। अदालतको आदेशपछि मुद्दा दर्ता भए पनि हालसम्म कसैलाई पक्राउ पुर्जी भने जारी भइसकेको छैन। सिंह २०७४ को स्थानीय निर्वाचनमा तत्काली लोसपाबाट अध्यक्ष बनेका थिए भने पछि रास्वपा प्रवेश गरी सांसद निर्वाचित भएका हुन्।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर