साजिर मन्सूर
काठमाडौं,असोज १९
नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को विद्यार्थी राजनीतिबाट पार्टीको मूलधारमा स्थापित भएकी युवा नेतृ मेघा शाहीले मधेस भूगोलबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेकी छन्।
बारा ४ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित शाहीले युवा पुस्ता, महिला तथा मधेसको प्रतिनिधित्वलाई पार्टीको केन्द्रीय तहमा थप प्रभावकारी बनाउन आफूले उम्मेदवारी दिन लागेको बताएकी छन्।
शाहीको राजनीतिक यात्रा नेविसंघबाट सुरु भएको हो। उनी नेविसंघको जिल्ला तह हुँदै केन्द्रीय राजनीतिमा पुगेकी थिइन्। नेविसंघको ११औँ महाधिवेशनबाट मधेस प्रदेशबाट उल्लेख्य मतसहित केन्द्रीय सदस्य निर्वाचित भएकी शाहीले विद्यार्थी राजनीतिमा लामो समय सक्रिय भूमिका निर्वाह गरेकी थिइन्।
नेविसंघको राजनीतिमा सक्रिय रहँदा शाहीले संगठन निर्माण, विद्यार्थीका मुद्दा तथा युवा नेतृत्वको विषयलाई प्राथमिकताका साथ उठाउँदै आएकी थिइन्। नेविसंघको नेतृत्वका लागि समेत आकांक्षा राखेकी उनी पछि पार्टीको मूलधारको राजनीतिमा प्रवेश गरेकी हुन्।
२०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट जीतपुर–सिमरा उपमहानगरपालिकाको उपप्रमुख पदमा उम्मेदवार बनेकी शाहीले १५ हजार ८४२ मत प्राप्त गरेकी थिइन्।
पछिल्लो समय कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै युवा पुस्ताका नेताहरूले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्ने क्रम बढिरहेका बेला शाहीको नाम पनि केन्द्रीय सदस्यका आकांक्षीका रूपमा सार्वजनिक भएको छ। बाराबाट महाधिवेशन प्रतिनिधि बनेकी शाहीले मधेस भूगोलबाट केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्नुपर्ने विभिन्न जिल्लाका महाधिवेशन प्रतिनिधिहरुले भनेपछी उनले उम्मेदवारी दिने तयारी गरेको बताएकी छन ।
शाहीले पार्टीभित्र पुस्तान्तरण, महिला तथा युवा सहभागिता, मधेसको आवाज र संगठनलाई थप सुदृढ बनाउने विषयलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएकी छन्।
नेविसंघको विद्यार्थी राजनीतिबाट सुरु भएको राजनीतिक यात्रालाई पार्टीको केन्द्रीय तहसम्म पुर्याउने लक्ष्यसहित शाहीले महाधिवेशन प्रतिनिधिहरूसँग संवाद र भेटघाटलाई समेत तीव्रता दिएकी छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा पुस्ताको सहभागिता र नेतृत्व हस्तान्तरणको विषय चर्चामा रहेका बेला मधेस भूगोलबाट शाहीको उम्मेदवारीलाई पनि कांग्रेसभित्रको नयाँ पुस्ताको प्रतिनिधित्वका रूपमा हेरिएको छ।












