२० असोज, काठमाडौं। नेपाली कांग्रेसकी युवा नेतृ मेघा शाहीले पार्टीको १५औँ महाधिवेशनमा मधेस प्रदेश भूगोलतर्फ महिला केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी दर्ता गराएकी छन्। बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ निवासी शाही लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएकी छन्। उनी संविधानसभा सदस्य मधु शाहीकी छोरी हुन् र राजनीतिक पारिवारिक पृष्ठभूमिबाट आएकी हुन्।
शाहीले पार्टी संगठनलाई थप सुदृढ बनाउन, राजनीतिमा युवाको अर्थपूर्ण सहभागिता बढाउन तथा महिला नेतृत्वलाई केन्द्रीय तहमा स्थापित गर्ने मुख्य उद्देश्यका साथ आफ्नो उम्मेदवारी दिएको बताएकी छन्। नयाँ पुस्ताको आवाज र विचारलाई पार्टीको माथिल्लो निर्णय प्रक्रियासम्म प्रभावकारी रूपमा पुर्याउने उनको दाबी रहेको छ।



यसअघि उनले वि. सं. २०७९ को स्थानीय तह निर्वाचनमा जीतपुरसिमरा उपमहानगरपालिकाको उपप्रमुख (डिप्युटी मेयर) पदमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएकी थिइन्। उक्त निर्वाचनमा उनले १५ हजार ८४२ मत प्राप्त गरेकी थिइन् भने नेकपा एमालेका उम्मेदवार भोला प्रसाद अधिकारी १७ हजार ४९२ मत ल्याएर निर्वाचित भएका थिए।
स्थानीय तहको निर्वाचनबाट राजनीतिक अनुभव हासिल गरिसकेकी शाहीको उम्मेदवारीसँगै मधेस प्रदेशबाट कांग्रेसको केन्द्रीय नेतृत्वमा महिला र युवा पुस्ताको प्रतिनिधित्वबारे चर्चा सुरु भएको छ। अब महाधिवेशन प्रतिनिधिहरूको मतदानबाट उनको दाबी कत्तिको बलियो रूपमा स्थापित हुन्छ भन्ने कुरा आगामी निर्वाचन परिणामले तय गर्नेछ।









