२१असोज बारा। निजगढ नगरपालिका–११ रतनपुरबाट प्रहरीले भरुवा बन्दुक, बारुद र पासोसहित एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय निजगढको टोलीले रतनपुर पश्चिम टोलस्थित फुटबल ग्राउण्ड नजिकबाट स्थानीय ३९ वर्षीय शम्शेर रुम्बालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार रुम्बाको साथबाट बारुद लोड गरिएको एक थान भरुवा बन्दुक, ८० ग्राम बारुदजस्तो पदार्थ, बारुद बनाउन प्रयोग हुने पटका र जङ्गली जनावर समात्न प्रयोग गरिने बाँस तथा रबरबाट निर्मित पासो (जाल) बरामद गरिएको छ।



पक्राउ परेका रुम्बामाथि हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ।









