२५ असोज,बारा । बाराको सिम्रौनगढ नगरपालिका–९ बसवरियास्थित नहर सडकखण्डमा शनिवार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
शनिबार साँझ करिब ६:४५ बजे सिम्रौनगढबाट कचोर्वातर्फ जाँदै गरेको मोटरसाइकलले सोही दिशामा गइरहेको साइकललाई ठक्कर दिएको हो। दुर्घटनामा साइकलमा सवार सिम्रौनगढ नगरपालिका–६ का सबु मोहम्मद र उनकी श्रीमती रिजवना खातुन घाइते भएका थिए।



घाइते रिजवना खातुनको प्रादेशिक अस्पताल कलैयामा उपचारका क्रममा साँझ ७:१० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। उनका श्रीमान् सबु मोहम्मदलाई थप उपचारका लागि वीरगञ्जस्थित नारायणी न्युरो अस्पतालमा रिफर गरिएको छ।
यस्तै, दुर्घटनामा मोटरसाइकल चालक अजय महतो र पछाडि सवार विवेक महतो पनि गम्भीर घाइते भएका छन्। दुवैलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज रिफर गरिएको छ।
प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल र साइकललाई नियन्त्रणमा लिएर घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाएको छ।









