२७ असोज, बारा। बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवा—पप्पु कुमार गुप्ता, रवि कुमार, रितेश कुमार साह र अमित साह—नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा छनोट भएका छन्। स्थानीय सामुदायिक विद्यालय श्री नेरा माविबाट एसएलसी उत्तीर्ण गरेका यी युवाहरूको सफलताले गाउँमा खुसीयाली छाएको छ। सामान्य पारिवारिक पृष्ठभूमि (पान पसल, कृषि र फर्निचर व्यवसाय) बाट आएका उनीहरूको यो सफलताले निरन्तर मेहनत र दृढ संकल्प भए सीमित स्रोतसाधनका बाबजुद सफलता हासिल गर्न सकिन्छ भन्ने पुष्टि गरेको छ।
चारै युवाको प्रहरी सेवा प्रवेशको यात्रा प्रेरणादायी छ। पप्पु कुमार गुप्ताले यसअघि राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पद त्यागेर खुला र मधेसी दुवै समूहबाट असईमा सफलता पाएका हुन्। त्यसैगरी रितेश कुमार साह पहिलो प्रयासमै खुलाबाट सिफारिस भए भने रवि कुमार र अमित साहले दोस्रो प्रयासमा सफलता हासिल गरेका छन्। उद्योग विभाग, मधेश प्रदेशका महानिर्देशक सुशील साहले पनि उनीहरूलाई बधाई दिँदै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन्।



फेटा–३ को यो उपलब्धि असई पदमा मात्र सीमित छैन। यस वडाबाट प्रहरी जवानदेखि डीएसपीसम्मका करिब ५० जना सुरक्षा निकायमा र पछिल्लो तीन वर्षमा ३० देखि ३५ जना युवा निजामती सेवा (सुब्बादेखि अधिकृतसम्म) मा प्रवेश गरिसकेका छन्। साथै शैक्षिक क्षेत्रतर्फ यसै वर्ष चिकित्सा शिक्षा (IOM) मा २ जना र इन्जिनियरिङ (IOE) मा करिब १० जना विद्यार्थीले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन्।
तालिम सफलतापूर्वक सम्पन्न गरेपछि उनीहरूलाई आगामी कात्तिक ९ गतेदेखि आ-आफ्नो कार्यक्षेत्रमा खटाइने भएको छ। जसअनुसार पप्पु कुमार गुप्तालाई नुवाकोट, रवि कुमारलाई सिन्धुपाल्चोक, रितेश कुमार साहलाई मोरङ र अमित साहलाई झापा जिल्लामा पदस्थापन गरिएको छ। उनीहरूको यो उपलब्धिले सामुदायिक विद्यालयमा पढ्ने र लोकसेवा तथा प्रहरी सेवाको तयारी गरिरहेका युवाहरूका लागि ठूलो उत्साह थपेको छ।









