१ कात्तिक, बारा। बडादसैं एवम् नवरात्रको आठौँ दिन अर्थात् महाअष्टमीका अवसरमा आज देशैभरका दसैँघर तथा पूजाकोठाहरूमा नवदुर्गामध्येकी आठौँ रूप माता महागौरीको विधिपूर्वक पूजा-आराधना गरिँदैछ। सेतो वस्त्र र आभूषण धारण गरेकी, चार हात भएकी र गोरु (वृषभ) मा सवार माता महागौरीको स्वरूप अत्यन्त शान्त, दिव्य र कान्तिमान् मानिन्छ।

पौराणिक मान्यता अनुसार भगवान् शिवलाई पति रूपमा पाउनका लागि माता पार्वतीले गर्नुभएको कठोर तपस्याका कारण उहाँको शरीर कालो र क्षीण भएको थियो। पछि भगवान् शिव प्रसन्न भई गङ्गाको पवित्र जलले स्नान गराएपछि उहाँको शरीर अत्यन्त गोरो, तेजस्वी र दिव्य बन्यो, जसका कारण उहाँलाई महागौरी भनिन थालिएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ।

महाअष्टमीका दिन महागौरीको आराधना गर्नाले अज्ञानता, दुःख र पापबाट मुक्ति मिल्ने तथा घरपरिवारमा सुख-शान्ति एवं समृद्धि कायम हुने जनविश्वास छ। आजको दिन मातालाई नरिवल, हलुवा, पुरी र चनाको भोग चढाउनुका साथै साक्षात देवीको स्वरूप मानेर साना कन्या (बालिका) हरूलाई पूजा गरी भोजन गराउने (कन्या पूजन) विशेष परम्परा समेत रहेको छ।

आजका दिन काठमाडौँ उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती र भद्रकालीका साथै उपत्यकाबाहिरका पर्साको गहवामाई, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता र ताप्लेजुङको पाथीभरालगायतका प्रसिद्ध शक्तिपीठहरूमा बिहानैदेखि भक्तजनको बाक्लो घुइँचो लागेको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर