३कात्तिक, बारा। बाराको जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत सिमरा बजार क्षेत्रमा दर्जनौं स्थानीयवासीलाई टोकेर त्रास फैलाएको कुकुरलाई सोमबार साँझ नियन्त्रणमा लिइएको छ। जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, नगर प्रहरी र स्थानीय युवाहरूको घण्टौंसम्मको निरन्तर प्रयासपछि उक्त कुकुरलाई नियन्त्रणमा लिन सफलता मिलेको हो।

कुकुरलाई समात्ने क्रममा वडाध्यक्ष श्रेष्ठ आफैं समेत घाइते भएका छन्। सिमरा चोक आसपासका सर्वसाधारणलाई टोक्दै नेपाल विद्युत प्राधिकरणको सिमरा वितरण केन्द्र कार्यालयतर्फ जाँदै गरेको अवस्थामा वडाध्यक्ष श्रेष्ठले कुकुरलाई समात्न खोज्दा उनको हातमा टोकेर चोट लागेको छ।

उक्त कुकुरको आतङ्कले जीतपुरसिमरा वडा नं. १ र २ का बासिन्दा दिनभर भयभीत बनेका थिए। सोमबार बिहानै मन्दिरमा पूजा गर्न गएकी जीतपुरसिमरा-२ की मन्दिरा रिजाललाई एक्कासी आक्रमण गरी ओठमा गम्भीर चोट पुर्‍याएपछि प्राथमिक उपचार पश्चात् थप उपचारका लागि काठमाडौं पठाइएको छ। यसअघि सोही कुकुरले जीतपुरसिमरा-२ की तीन वर्षीया बालिका आयंका तामाङलाई आक्रमण गरी ओठ र चिउँडोको भाग लुछेर गम्भीर घाइते बनाएको थियो, जसको हाल उपचार भइरहेको छ।

दिनभरको प्रयासका बाबजुद नियन्त्रणबाहिर रहेको कुकुरले सोमबार साँझ पुनः केही समयभित्रै सात जनालाई टोकेपछि सिमरा बजार क्षेत्रमा तीव्र त्रास फैलिएको थियो। आतङ्क मच्चाएको कुकुरले पुर्‍याउन सक्ने चोटको समेत पर्वाह नगरी पछ्याउँदै नियन्त्रणमा लिएपछि स्थानीयले राहतको महसुस गरेका छन् भने साहसिक कदम चाल्ने वडाध्यक्ष र स्थानीय युवाहरूको यतिबेला चौतर्फी प्रशंसा भइरहेको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर