बिरेन्द्र शाह ।
विरुवाको डाँठ भित्र पसेर भित्र भित्रै खाने किरालाई गवारो भनिन्छ । सामान्यतया धान बालीमा ४ किसिमका गवारो किराहरुले क्षती पुर्याउछन् ।

पहिलोमा पहेंलो गवारो किरा जुन पुतली जस्तो पहेंलो रंगका हुन्छ र यस्ता किराहरु नियमित रुपमा पानी जमिरहने खेतमा बढी पाइन्छ । त्यसैगरी दोस्रोमा सेतो गवारो किरा जुन पुतली जस्तै सेतो रंगको हुन्छ । तेस्रोमा धर्के गवारो जुन लाभ्रेको शरीरमा धर्का हुन्छ र उच्च पहाडी क्षेत्रमा र पानी नजम्ने क्षेत्रमा बढी पाइन्छ ।

चौथो तथा अन्तिम गुलावी गवारो किराको लाभ्रे गुलावी रंगको हुन्छ र उँचो जमिनमा लगाइएको बालीमा र नजिकै उखु तथा अन्य घाँसे विरुवाहरु भएको क्षेत्रमा बढी पाइन्छ ।
यस किसिमको गवारोले पातको फेद र डाँठकोबीचमा फुल पार्दछ । वयस्क पुतलीले धानको पातमा फुल पार्दछ र फुलबाट ४–५ दिनमा मसिना लाभ्रेहरु निस्कन्छन् । लाभ्रेहरु सुरुमा पातमा यताउती घुमेर हरियो भाग खान्छन् र पछि डाँठमा प्वाल पारी भित्र पसेर विरुवाको कलिलो भाग खान्छन् । यसरी खाएको विरुवाको गुवो मर्दछ, जसलाई मृत गुवो पनि भनिन्छ ।

धान छिप्पी सके पछि गवारो लागेमा बाला सेतो हुन्छ र गुवो विस्तारै तान्ना साथ सजिलैसंग निस्कन्छ । यस्तो बालामा दुध भरिन पाउँदैन र भुस मात्र हुन्छ । यो किरा फागुन देखि कात्तिक सम्म सक्रिय रहन्छ । जाडो मौसममा बालीका ठुटाहरुमा अचल अवस्थामा बस्छ । यस्ता किराहरु धान बाहेक उखु, विभिन्न घाँसे प्रकृतिका विरुवा जस्तै बन्सो, सामा, जंगली धान आदिमा पनि भेटिन्छन् ।

व्यवस्थापनका उपाय

यस्ता किराबाट जोगिन धान काट्दा जमिनको सतहबाट काट्नुपर्छ । धान काटी सके पछि ठूटाहरु संकलन गरेर जलाउने अथवा ठूटाहरु डुब्ने गरी ३–४ दिन सम्म पानी जमाईदिने वा खेतलाई गहिरो गरी जोत्नुपर्छ । त्यसैगरी माकुरा, लामो सिंगे फट्याङ्ग्रा जस्ता मित्र जीवहरुको संरक्षण गर्नुपर्छ । सप्रिएको वेर्नालाई टुप्पो काटेर मात्र रोप्नुपर्छ । धान चाँडो रोप्ने गर्नुपर्छ । चाँडै पाक्ने र होचो जातहरु जस्तै खुमल ३, घैया १, घैया २, तरहरा १, राधा ४ आदि लगाउनुपर्छ ।

सिफारिस गरे अनुसार उचित मात्रामा मल खाद्यको प्रयोग गर्नुपर्छ । सिचाई गर्ने जग्गामा दुईसय किलो गोठेमल वा कम्पोष्ट मल, साढेसात किलो युरिया, तीन किलो डि.ए.पि. र दुई किलो दुईसय ग्राम म्यूरेट अफ पोटास प्रति कठ्ठा हाल्नुपर्छ । नाइट्रोजनयुक्त मल सिफारिस भन्दा बढी मात्रामा प्रयोग गर्नु हुदैन । नाइट्रोजनयुक्त मलको सिफारिस मात्रालाई तीन चार भागमा विभाजन गरी विरुवाको बृद्धि अवस्था अनुसार पटक पटक गरेर प्रयोग गर्नुपर्छ ।
प्रकाश पासोको प्रयोग गर्नुपर्छ । यस्तो पासो ६ वटा प्रति हेक्टर लगाउनु पर्ने हुन्छ ।

धानखेतको आलीमा भटमास लगाउने जसले मीत्र जीवको संरक्षण र कीरालाई विकर्षण गर्दछ । ट्राइकोग्रामा परजीवी कीरा (बारुलो) ५००००–१००००० प्रति हेक्टरका दरले रोपाई गरेको ३–४ हप्ता पछि छाडनु पर्छ । रोपाई गरेको तीन हप्तापछि ब्यासीलस थुरिन्जियन्सिस (बिटी) ३ ग्राम प्रति लिटर पानीका दरले मिसाएर छर्कने गर्नुपर्छ । निमको पिना दस किलो प्रति कठ्ठाका दरले प्रयोग गर्नुपर्छ । निमजन्य विषादी एजाडिराक्टिन तीन देखि पाँच मिलिलिटर प्रति लिटर पानीका दरले घोलेर स्प्रे गर्नुपर्छ । यदी कीराको प्रकोप बढी देखिएमा फिप्रोनलि वा कारटाप हाइड्रोक्लोराइड जस्ता विषादी विज्ञको सल्लाह अनुसार छर्नुपर्छ ।

रसायनिक विषादी प्रयोग गर्दा सुरक्षित पहिरन लगाउनुपर्छ । मास्क, पन्जा, गमबुट साथै शरीर पुरा ढाक्ने कपडाको प्रयोग गर्नुपर्छ । हामीले सिफारिस मात्रा भन्दा वढी विषादी प्रयोग गर्नुहुदैन । साथै दुई वा दुई भन्दा बढी विषादी एकै पटक मिसाएर कहिल्यै प्रयोग गर्नुहुदैन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर