
कलैया । कलैया उपमहानगरपालिकाको मुटुमा अवस्थित रामजानकी मठको आगनमा रहेको पोखरीका माछाहरु एकाएक मर्न थालेका छन् ।
पछिल्लो दुई–तीन दिन देखि पोखरीको माछाहरु मर्न थाले पछि मन्दिर दर्शन गर्न आउने दर्शनार्थी एवम आगन्तुकहरु आश्चर्य चकित तथा चिन्तित भएका छन् । पोखरी वरपरका स्थानीय वासीले फोहरमैला फाल्ने गरेको कारण पोखरीको पानि प्रदूशित भएको र पोखरीको माछा मर्न थालेको स्थानीय प्रत्यक्ष दर्शीहरुले बताएका छन् ।
पोखरीमा धेरै संख्यामा माछाहरु रहेको र माछा हेर्न र दाना खुवाउन आउनेको ताती लाग्ने गरेकोमा माछाहरु मर्न थाले पछि दुर्गन्धित बन्न पुगेको छ । माछा हेर्न भनेर आउने आगन्तुक मरेको माछाको दुर्गन्धले निराश भएका छन् ।
सम्बन्धित निकायले ध्यान नदिदा पर्यटकीय स्थलका रुपमा स्थापित हुँदै गएको पोखरी पछाडी पर्ने सोच र चिन्ता गर्न थालिएको छ ।
सरकारी निकाय तथा कार्यालयहरुले बेला–बेला देखाउनका लागि भए पनि पोखरी वरपर सरसफाई गर्ने तर निरन्तरता नदिदा यस खालका समस्या देखिन थालिएको हो ।
यता रामजानकी मन्दिरको व्यवस्थापन पक्ष भने कानमा तेल हालेर बसेको स्थानीयको गुनासो छ ।
मन्दिरको धेरै जग्गा अतिक्रमण हुनाका साथै पोखरी पनि प्रदूषित हुन पुगेको देखिन्छ । अतः सम्बन्धित निकायको ध्यान समयमै जान जरुरी छ ।