कलैया । प्रदेश २ को राजधानी वीरगञ्जलाई बनाउन माग गर्दै मुख्यमन्त्री लालबाबु राउतको घर अगाडि आज युवाहरुले प्रदर्शन गरेका छन्। वीरगन्ज महानगरपालिका वडा नम्बर १३ तेजारथ टोलस्थित मुख्यमन्त्री लालबाबु राउतको घर अगाडि युवाहरुले प्रदर्शन गरेका हुन्।
मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ को राजधानीका लागि जनकपुरधामको पक्षमा मतदान गर्ने पक्कापक्कै भएपछि आक्रोशित युवाहरु आन्दोलनमा उत्रेका हुन् ।
युवा नेताहरुको अगुवाइमा गरिएको प्रदर्शनमा सहभागीहरुले वीरगन्जलाइ राजधानी कायम गर, मुख्यमन्त्री चाहिँदैन वीरगन्ज बेच्न पाइँदैन, वीरगन्जवासी जिन्दावाद लगायतका नारा पनि लगाएका थिए। प्रदेश २ को स्थायी राजधानी टुङगो लगाउन प्रदेशसभामा सोमबार मतदान हुँदैछ। प्रदेश राजधानीका लागि अहिलेको अस्थायी राजधानी जनकपुरधाम र वीरगन्जगरी दुईवटा फरक—फरक प्रस्ताव पेश भएको छ ।
मुख्यमन्त्री राउतले आफ्नो पद जोगाउनका लागि वीरगञ्जलाई धोका दिएर जनकपुरको पक्षमा मतदान गर्न लागेको प्रदर्शनकारीको आरोप छ ।