वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालको प्रसुती विभाग केही चिकित्सक तथा कर्मचारीका कारण लथालिंङ्ग बन्दै गएको छ । प्रसूती विभागमा उपचारका लागि आउने अधिकांशलाई वेड नै छैन भन्दै यहांका चिकित्सक तथा कर्मचारीले नामै तोकेर केही निजी अस्पतालतर्फ पठाइदिने गरेका छन् ।
उपचारका लागि भर्ना भएका विरामीसँग पनि हप्किदप्की र रुखो व्यवहार गर्ने गरेको भेटिएको छ । दैनिक ९ वटा मात्रै शल्यक्रियामार्फत प्रसुती गराउने सिण्डिकेट बनाएर त्यसभन्दा बढी प्रसुतीका विरामी आए भर्नै नगरेर निजीमा पठाउने धन्दा नारायणीमा चलिरहेको छ । नारायणी अस्पताल वीरगञ्ज वरपरका विरामी मात्रै आउँदैन बारा, रौतहट, सर्लाहीसम्मकै विरामिहरुको उपचार गर्ने थलो हो । तर यहाँ केही चिकित्सक तथा कर्मचारीको मनोमानिका कारण सिण्डिकेट लगाएर बिरामी भगाउने खेल भइरहेको छ ।
अस्पतालमा एनआइसियु वार्ड पनि ९ बेडमै खुम्चिएको छ । यसले गर्दा गरिब तथा निम्न वर्गका विरामीहरु चर्को शुल्क तिरेर निजीमा उपचार गराउन बाध्य बनेका छन् । अस्पतालको प्रसुती वार्डमा देखिएको समस्यासमाधानका लागि अस्पताल प्रशासनले काम नगरेको होइन गरिरहेको छ । प्रसूती वार्डमा देखिएको सैया अभावको समस्या समाधानका लागि थप ९ वडा सैयालाई पोस्ट अपरेटिभ वार्ड बनाउने तयारी भइरहेको अस्पताल स्रोत बताउँछ । यस्तै एनआइसियूतर्फ पनि सैया थप गर्ने तयारीमा अस्पताल लागिरहेको छ ।
अस्पतालका निमित्त मेसु डा.बिरेन्द्र बहादुर प्रधान अस्पतालभित्रैको चिकित्सक तथा कर्मचारीको असहयोगका कारण भने चुस्त सेवा प्रवाह गर्न सकिरहेका छैनन् । वीरगञ्जकै स्थानीय र त्यसमा पनि नारायणी अस्पतालमा नै वर्षौं सेवा गरेका प्रधानको हातमा अस्पताल प्रशासनको जिम्मेवारी परेसँगै अस्पताल सुधार हुने अपेक्षा यहाँका बासिन्दाले गरेका छन् ।