२९ असोज, बारा। बडादशैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज घर-घरका पूजा कोठा तथा दशैँ घरमा नवदुर्गामध्येकी पाँचौँ स्वरूप स्कन्दमाताको विधिपूर्वक पूजा-आराधना गरिँदै छ। आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी सुरु भएको दुर्गा पक्षको पाँचौँ दिन पञ्चमीका अवसरमा आज देशभरका शक्तिपीठहरूमा बिहानैदेखि भक्तजनहरूको ठूलो घुइँचो लागेको छ।

नवरात्रभर घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्रहरूको पाठ गरिन्छ। नवरात्रका अवसरमा देवीको विशेष आराधना गर्नाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुनुका साथै मनोकाङ्क्षा पूरा हुने र पारिवारिक सुख-शान्ति मिल्ने धार्मिक विश्वास रहेको छ। गत असोज २५ गते घटस्थापना गरी जौको जमरा राखिएसँगै सुरु भएको यो १५ दिने बडादशैँ पर्व विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म मनाइन्छ।
स्कन्दमाता नाम रहनुको पौराणिक कथा

पौराणिक ग्रन्थहरूमा वर्णन गरिएअनुसार, एकपटक भगवान् शिव र पार्वती ऋषिकुलको सभामा जाँदा सबैले स्वागत गरे पनि ऋषि सनत्कुमार ध्यानमग्न भएकाले उठेनन्। ऋषिले स्वागत नगरेकोमा अप्रसन्न भई पार्वतीले उनलाई ‘ऊँट’ बन्ने श्राप दिइन्। तर ज्ञानी ऋषि ऊँटकै योनिमा पुग्दा पनि आफ्नो ब्रह्मज्ञानका कारण आनन्दपूर्वक ब्रह्मचिन्तनमा मस्त रहे।

भगवान् शिवसँगै ऊँटधारी ऋषिलाई भेट्न पुगेकी पार्वतीले ऋषिको ब्रह्मज्ञान र निष्ठाबाट प्रभावित भएर श्राप दिएकोमा पश्चात्ताप गरिन् र उनलाई आफ्नो पुत्रका रूपमा प्राप्त गर्ने इच्छा व्यक्त गरिन्। पार्वतीको आज्ञा स्वीकार गरी सनत्कुमारले उनका पुत्रका रूपमा जन्म लिए। छान्दोग्य श्रुतिअनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम ‘स्कन्द’ रहन गएको हो। तिनै सनत्कुमार (स्कन्द) को माता भएकाले देवी पार्वतीलाई ‘स्कन्दमाता’ भन्न थालिएको हो।

सिंहमा सवार, चार हात भएकी र दुवै हातमा कमलको फूल समाएकी स्कन्दमाताको पूजा-आराधनाका लागि आज काठमाडौँ उपत्यकाका गुह्येश्वरी, नक्साल भगवती, मैतीदेवी, भद्रकालीका साथै देशैभरका प्रमुख शक्तिपीठहरूमा बिहानैदेखि श्रद्धालुहरूको घुइँचो लागेको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर