नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिदै हुनुहुन्छ । आज बिहान ११ बजेका लागि पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो ।
उहाँलाई राष्ट्रपति पौडेलले संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।
२८ असारमा प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त हुनुभएको थियो ।
त्यसै दिन राष्ट्रपति पौडेलले दुई दिनको समय दिएर प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्नुभएको थिए भने एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेससहितका दलको सांसदहरुको समर्थन आफूलाई रहेको भन्दै दाबी पेस गर्नुभयो ।
प्रधानमन्त्री नियुक्त भएसँग ओलीले मन्त्रिपरिषद् गठनको तयारी थाल्नुभएको छ । मन्त्रीको नाम टुंगो लागेपछि छिट्टै मन्त्रिपरिषद् विस्तार हुने नेताहरूले बताएका छन् ।







