मधेस प्रदेशका नवनियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बिहीबार साँझ नेपाली कांग्रेसका चार जना र लोकतान्त्रिक समाजवादी पार्टीका १ जना गरी पाँच जना प्रदेशसभा सदस्यले मन्त्रीको रुपमा शपथ लिएका हुन्। मुख्यमन्त्री सतिशकुमार सिंहको सिफारिसमा नियुक्त भएका पाँच जना मन्त्रीले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनीयताको शपथ खुवाउनुभएको हो ।
कांग्रेसको तर्फबाट रौतहटका सुनिल यादव अर्थ, पर्साका जनार्दन सिंह क्षेत्री भूमि व्यवस्था, कृषि तथा सहकारी, धनुषाका शेषनरायण यादव ऊर्जा, सिँचाई तथा खानेपानी र सर्लाहीका कौशल किशोर राय श्रम तथा यातायात मन्त्रीको रुपमा शपथ लिनुभएको हो । यस्तै, लोसपाको तर्फबाट महोत्तरीकी रानीशर्मा तिवारीले शिक्षा तथा संस्कृति मन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिनुभएकी छन ।
मुख्यमन्त्री सिंहले विश्वासको मत लिइसकेपछि कांग्रेसबाट चार जनाले मन्त्रीको रुपमा शपथ लिने तयारी गरे पनि अन्तिम समयमा आएर मुख्यमन्त्री सिंहले अर्थ मन्त्रालय आफूसँगै राख्ने भनेपछि मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन।







