सहकारी प्रकरणमा काठमाडौँ जिल्ला अदालतबाट बुधवार धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतमा अर्को मुद्दा दायर गर्ने तयारी भएको छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उनी विरुद्ध बिहीबार मुद्दा दर्ता गर्न लागिएको हो ।

प्रहरीले गत शुक्रवार नै लामिछाने समेतलाई प्रतिवादी बनाएर मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाइएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख प्रेमराज पौडेलले मुद्दा दर्ताको अन्तिम तयारीमा पुगेको रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘आज साँझसम्म मुद्दा दायर हुन्छ ।’

उनले अनुसन्धान प्रतिवेदन अध्ययन भइरहेको बताउँदै केही प्राविधिक समस्या आएको खण्डमा चाहिँ शुक्रबार पनि हुनसक्ने बताए ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पूरक अनुसन्धान गरेर प्रहरीले लामिछाने, पूर्वडीआइजी छविलाल जोशीसहित १४ जनाको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाएको हो ।

उक्त प्रकरणमा पुराना २८ र नयाँ १४ गरी ४२ जना विरुद्ध मुद्दा चलाउने राय दिइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजय पण्डितले रातोपाटीलाई बताए ।

जसमा केही व्यक्ति र कसुर पनि फरक फरक रहेकोले सोही विषयमा सरकारी वकिलको कार्यालयमा छलफल चलिहरेको छ । प्रहरीले सहकारी ठगी ,सङ्गठित अपराध र केही व्यक्तिविरुद्ध लागि सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा चलाउन रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ। जसमा रवि , छवि र जीवी राईको सम्पत्ति शुद्धीकरणको मुद्दा कास्कीबाट नै अघि बढ्नेछ । तर, सुप्रिम सहकारी सञ्चालक समेत रहेका दिनेश रोकाविरुद्ध रुपन्देहीमा सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउनु पर्ने राय दिइएको छ ।

कास्की प्रहरीमा अनुसन्धान भइरहेका बेला रविमाथि बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि २७ कात्तिकमा बुटवलस्थित सरकारी वकिलको कार्यालयमा पुगेर रविले बयान दिएका थिए । यस्तै पूर्वडीआइजी जोशी पनि सोही बेला रुपन्देही पुगेर बयान दिएका थिए ।

प्रहरी स्रोतका अनुसार अनुसन्धान प्रतिवेदनमा रविविरुद्ध व्यक्तिगत रूपमा गएको २ करोड र गोर्खा मिडियाका नाममा गएको सामूहिक २ करोड १५ लाख २८ हजार गरी ४ करोड १५ लाख २८ हजार रुपैयाँको बिगो माग दाबी गरिएको छ ।

त्यस्तै जोशीविरुद्ध २ करोड ५० लाख व्यक्तिगत र मिडियाको सामूहिक १ करोड ७७ लाख ८८ हजार गरी ४ करोड २७ लाख ७८ हजार रुपैयाँ बिगो दाबी गरिएको स्रोतको भनाई छ ।

यस्तै सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङविरुद्ध व्यक्तिगत २ करोड ८८ लाख १४ हजार र सामूहिक २ करोड ७ लाख ९४ हजार गरी ४ करोड ९६ लाख ८ हजार बिगो माग दाबी प्रहरी प्रतिवेदनमा गरिएको छ ।

यसअघि रवि गृहमन्त्री रहेकै बेला सुप्रिम सरकारी ठगीसम्बन्धी मुद्दा ३ वैशाखमा अदालतमा दर्ता भएको थियो । त्यति बेला एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

अहिले पूरक अभियोजनमा रविसहित ४४ प्रतिवादी बनाइएको छ । यससँगै अब कुल बिगो कुल १ अर्ब १२ करोड रुपैयाँ पुग्ने स्रोतको भनाइ छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर