साजिर मन्सूर
कलैया,साउन ३
बाराको सिमराबाट ९ जना जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । विशेष सुराकीका आधारमा प्रहरीले छापा मारेर नेता, ठेकेदार, व्यापारी, शिक्षक र उद्योगी समेत रहेका व्यक्तिहरुलाई रंगेहात पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा प्रहरीले शुक्रबार जीतपुरसिमरा उपमहानगरपालिका–२ जानकीटोलस्थित केशव सुनुवारको घरमा छापा मारी उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोष तामाङका अनुसार इलाका प्रहरी कार्यालय सिमराको टोलीले तेस्रो तलामा तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो। घटनास्थलमा प्रहरी पुग्दा उनीहरू तासमा लिप्त रहेको पाइएको थियो।
प्रहरीले घर खानतलासी गर्दा तेस्रो तलाको कोठाबाट तास खेलिरहेका उनीहरूलाई नियन्त्रणमा लिएर नगद एक लाख ५४ हजार ६८० रुपैयाँ बरामद गरेको छ। प्रहरीले उनीहरूको साथबाट विभिन्न दरमा रकम बरामद गरेको हो। पक्राउ परेकाहरूमा जीतपुरसिमरा उपमहानगरपालिका–१ का ३० वर्षीय सुशान्त खाती सुनार, वडा नं. २ का ४० वर्षीय बलराम विश्वकर्मा, ५६ वर्षीय सुमन कुमार भट्टराई, ४१ वर्षीय अभय श्रीवास्तव, ४१ वर्षीय घरधनी केशव सुनुवार, ५२ वर्षीय थलबहादुर विश्वकर्मा, ५४ वर्षीय शिवकुमार साह, ५१ वर्षीय राजकुमार भट्टराई र ५९ वर्षीय बलरामकुमार क्षेत्री रहेका छन्।
प्रहरीका अनुसार उनीहरूबाट क्रमशः ३३ हजार, २३ हजार २ सय, चार सय ५०, १९ हजार ७ सय ३५, छ हजार ९५, १० हजार २ सय ५०, २० हजार ६ सय, आठ हजार ५ सय ५० र ३२ हजार ८ सय रुपैयाँ नगद बरामद गरिएको छ। पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिई सोही स्थानमा जरुरी पक्राउ पुर्जी थमाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यता उनीहरूलाई राज्यशक्ति प्रयोग गरी छुटाउन दबाब दिइएको चर्चा जिल्ला भर चुलिएको छ। प्रहरी स्रोतका अनुसार, स्थानीय प्रशासन, प्रभावशाली नेता र केही उच्चपदस्थ व्यक्तिहरूको तर्फबाट प्रहरीमा राजनीतिक दबाब आएको छ।
कानुनी प्रक्रिया रोक्ने प्रयास?
जुवा ऐन, २०२० अनुसार यस्तो कार्य दण्डनीय हो । तर पक्राउ परेका व्यक्तिहरूलाई साधारण नागरिकभन्दा फरक व्यवहार देखाउने प्रवृत्तिप्रति स्थानीय तहमा आक्रोश चुलिएको छ। “सामान्य व्यक्ति हुँदा त तुरुन्त मुद्दा लाग्छ, तर पैसा र पद भएका छुट्न खोज्छन्,” एक जना स्थानीयले भने।
सार्वजनिक पदधारीको संलग्नता चिन्ताजनक
पक्राउ परेका मध्ये केही शिक्षक र सार्वजनिक पदधारी रहेको पाइएको छ, जसले कानुनी मात्र होइन, नैतिक सवाल पनि उठाएको छ। नागरिक समाजले उनीहरूलाई कानुन बमोजिम कडा कार्वाही को माग गरेका छन्।
राजनीतिक पहुँचले छोपिने प्रयास
यो घटना फेरि एकपटक देखाउँछ कि, न्यायप्रणाली माथि राजनीतिक पहुँचको गलत प्रयोग हुने परिपाटी अझै कायम छ। यदि कानुनी राज्यको सिद्धान्तमा विश्वास राख्नुपर्ने हो भने, यस्ता व्यक्तिहरूलाई स्पष्ट रूपमा कारबाही गरिनु आवश्यक छ।
यो घटना लाई नजिकबाट नियालिरहेको नागरिक समाज बाराका सदस्य एवम अधिवक्ता एकरामुल हकले भने । उनले यसमा सम्पुर्ण बारा बासी को ध्यान रहेकाले राजनितीक दबाव दिनेहरु पनि नाङ्गो हुने बताएका छन ।







