साजिर मन्सूर
कलैया,भदौ ११
कलैया उपमहानगरपालिकाले आफ्ना मातहतका विद्यालयका ७ जना प्रधानाध्यापक (हेड मास्टर) तथा ७ जना शिक्षकहरूको व्यापक सरुवा गरेको छ। प्रधानाध्यापक हरुको कार्य सम्पादन मुल्यांकनका अनुसार सरुवा गरिएको शिक्षा युवा तथा खेलकुद महाशाखाले जनाएको छ ।
यसैगरी हालै सम्पन्न एसईई (माध्यमिक शिक्षा परीक्षा) मा नतिजा लगातार खस्किनु पनि कारण भएको उपमहानगरले जनाएको छ।
शिक्षा शाखाका अनुसार उपमहानगरपालिकाभित्रका दर्जनौँ विद्यालयका हेड मास्टरलाई नयाँ विद्यालयमा पठाइएको छ। शिक्षा क्षेत्रमा सुधार ल्याउन, विद्यार्थीको शैक्षिक स्तर उकास्न तथा विद्यालय व्यवस्थापनमा नयाँ जोशका साथ नेतृत्व दिनुपर्ने आवश्यकता औंल्याउँदै सरुवा गरिएको हो।
उपमहानगरका मेयर बिनोद साहले भने, “विद्यार्थीहरूको नतिजा सुधार हाम्रो पहिलो प्राथमिकता हो। हेड मास्टरहरूको सक्रियता र नेतृत्व गुणस्तर बढाउन निर्णायक हुन्छ भन्ने हाम्रो विश्वास हो।”
हिजो बसेको शिक्षा समितिको बैठकले श्री ३ चन्द्र माबिका प्रधानाध्यापक नरेन्द्र गिरिलाई श्री पन्ना देबिमा सारिएको छ । यस्तै श्री ३ चन्द्र माबी को जिम्मेवारी हाल श्री महाबिर नेरा माबी ब्रहम्पुरीमा प्रधानाध्यापक रहेका रमेश कुश्वाहालाई दिईएको शिक्षा शाखा प्रमुख राजिव यादवले जानकारी गराएका छन। महाबिर माबी ब्रहम्पुरिमा मटिअर्वा बाट दिपेन्द्र यादवलाई प्रधानाध्यापकको जिम्मा दिइएको छ । पन्नादेबी कन्या माबिका मोतिलाल यादवलाई मोतिसरमा सरुवा गरिएको छ ।

शिक्षा सरोकारवालाहरूले यस कदमलाई स्वागत गरेका छन् तर केवल सरुवाले मात्र परिणाम सुधार नहुने, शिक्षण पद्धति, शिक्षकको तालिम र विद्यार्थीमैत्री वातावरण निर्माणमा समेत जोड दिनुपर्ने सुझाव दिएका छन्।
यसअघि पनि लगातार दुई वर्ष कलैया उपमहानगरका विद्यालयहरूको एसईई नतिजा प्रदेशकै औसतभन्दा तल देखिँदै आएको छ।







