वीरगञ्ज —बैशाख १८
प्रायः नाराबाजी र र्यालीमा सीमित हुने अन्तर्राष्ट्रिय मजदुर दिवसलाई यस वर्ष वीरगञ्जमा फरक सन्देशसहित मनाइएको छ। १३७औं मजदुर दिवसको अवसरमा नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) वीरगञ्ज इकाईले श्रमिकको हकहित मात्र होइन, सामाजिक उत्तरदायित्वलाई पनि केन्द्रमा राख्दै कार्यक्रम आयोजना गरेको हो।
दिवसको अवसरमा आज निकालिएको मोटरसाइकल र्यालीपछि संघको टोली “आमाको माया छात्रावास” पुगेर त्यहाँ रहेका बालबालिकासँग समय बिताएको थियो। बालबालिकालाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्नुका साथै उनीहरूसँग केक काटेर खुशी साटासाट गरिएको दृश्यले मजदुर दिवसलाई मानवीय संवेदनासँग जोड्ने प्रयास देखिएको थियो।
संघका पदाधिकारीहरूले यस प्रकारका कार्यक्रमले श्रमिक आन्दोलनलाई केवल अधिकारको मागमा सीमित नराखी समाजप्रति जिम्मेवार बनाउने विश्वास व्यक्त गरेका छन्। उनीहरूका अनुसार, बालबालिकाको शिक्षामा सानो सहयोगले पनि दीर्घकालीन सकारात्मक प्रभाव पार्न सक्छ।
अध्यक्ष सौरव बर्णवालको नेतृत्वमा सम्पन्न कार्यक्रममा संघका विभिन्न पदाधिकारी, सदस्य तथा सल्लाहकारहरूको सक्रिय सहभागिता रहेको थियो।
संघले आगामी दिनमा पनि यस्ता सामाजिक तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ, जसले मजदुर दिवसलाई केवल औपचारिकतामा सीमित नराखी समाजसँग जोड्ने प्रयासलाई थप बल पुग्ने अपेक्षा गरिएको छ।







