साजिर मन्सूर
कलैया, साउन ३१
भारतको ८०औँ स्वतन्त्रता दिवसको अवसरमा नेपाल–भारत मैत्री सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले बाराको कलैयामा विशेष कार्यक्रम आयोजना गरिएको छ।
नेपाल–भारत मैत्री संघ, बाराको आयोजनामा कलैया उपमहानगरपालिका–१७, ब्रह्मपुरीस्थित हाम्रो पाठशाला बिधालय प्राङ्गणमा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध, आपसी सद्भाव तथा सहयोगलाई निरन्तरता दिने विषयमा जोड दिइएको छ।
संघका पुर्व केन्द्रीय सदस्य अनवर आलम अन्सारीको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा शुभकामना आदान–प्रदान गर्नुका साथै विद्यार्थीहरूलाई कापी वितरण र उत्कृष्ट विद्यार्थीलाई फूल वितरण गर्ने कार्यक्रमसमेत गरिएको थियो।
कार्यक्रम मार्फत नेपाल र भारतबीच सदियौँदेखि रहँदै आएको सामाजिक, सांस्कृतिक तथा मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ बनाउने सन्देश दिइएको छ।
नेपाल–भारत मैत्री संघ, बाराले भारतको स्वतन्त्रता दिवसका अवसरमा नेपाल–भारत मित्रता सदैव कायम रहोस् भन्ने शुभकामनासहित कार्यक्रम आयोजना गरेको हो।
सो अवसरमा ५० जनालाई झुल तथा २०० जना बिद्यार्थीलाई कपि बितरण गरिएको थियो ।
संघका बारा अध्यक्ष हिरालाल प्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बाबुराम सहनी,सचिव मुनिन्द्र लाल कर्ण,कोषाध्यक्ष बृजकिशोर साह,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पास्वान,प्रदेश सदस्य साजिर मन्सूर,ग्लोबल आईएमई बैंक कलैया शाखा प्रबन्धक अंशु बर्मा सहित स्थानीयहरुको उपस्थिति रहेको थियो ।







