साजिर मन्सूर
कलैया,भदौ १५
रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि बाराको कलैयास्थित जीवन ज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ५ लाख ५ हजार रुपैयाँ सहयोग गरेको छ।
कलैया उपमहानगरपालिका–१ बजारमा रहेको सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा चेकमार्फत जम्मा गरेको संस्था का अध्यक्ष दिलिप कुमार चौधरीले जानकारी गराएका छन ।
संस्थाका अध्यक्ष चौधरीका अनुसार विपद्को कठिन परिस्थितिमा रहेका नागरिकलाई राहत पुर्याउने उद्देश्यले संस्थाले सहयोग रकम उपलब्ध गराएको हो। उनले प्राकृतिक विपद्का कारण प्रभावित परिवारको उद्धार, राहत र पुनःस्थापनाका लागि सबै पक्षबाट सहयोग आवश्यक रहेको बताए।
भदौ १० गते बुधबार भोटेकोसी नदीमा आएको बाढीले रसुवामा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि पछिल्लो समय विभिन्न संघसंस्था, व्यवसायी तथा व्यक्तिहरूले सहयोग गर्दै आएका छन्।
अध्यक्ष चौधरीले जीवन ज्योति सहकारीले स्थापना कालदेखि नै सामाजिक तथा मानवीय क्षेत्रमा आफ्नो तर्फबाट सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यकताअनुसार सामाजिक कार्यमा सक्रिय रहने बताएका छन । सहकारीको सहयोगले बाढीपीडितको राहत तथा पुनःस्थापनामा थप योगदान पुग्ने अपेक्षा गरिएको छ। संस्थाका हरेक सदस्यले यस्ता मानविय काममा सहयोग गर्दा आफुहरु उत्साहित हुने गरेको बताउदै आएका छन ।
यसैबीच जिल्लाका अगुवाहरुले यो सहयोग का लागि संस्था को प्रसंशा गरिरहेको र यसैगरी अन्य समाजिक संघसंगठन र निजि छेत्र तथा अन्य सहकारीहरुले सहयोग गर्न हात अगाडि बढाउनुपर्ने नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पास्वानले प्रसंशा गरेका छन । यता नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले समेत यो कदमको स्वागत गरेका छन। दासले यो संस्थाले कोभिड महामारी मा समेत विभिन्न समाजिक कार्य गरेर आफुलाई प्रमाणित गरिसकेको बताएका छन ।







