
विश्वास डेस्क भदौ १९
बारा।वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन भगवान् श्रीकृष्णको जन्मजयन्तीलाई श्रीकृष्ण जन्माष्टमी पर्वका रूपमा हर्षोल्लासका साथ मनाउने गर्दछन्। द्वापर युगमा अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिको नाश गरी धर्म तथा सत्यको स्थापना गर्न भाद्र कृष्ण अष्टमीको मध्यरातमा भगवान् विष्णुका आठौँ अवतारका रूपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ। यस पावन अवसरमा ललितपुरको प्रसिद्ध ऐतिहासिक पाटनस्थित कृष्ण मन्दिरका साथै देशभरका विभिन्न मन्दिरहरूमा बिहानैदेखि दर्शनार्थी भक्तजनहरूको ठूलो घुइँचो लाग्ने गर्दछ। श्रद्धालुहरूले आजका दिन व्रत बसी भजनकीर्तन गर्ने र मध्यरातमा कृष्णको जन्म भएपछि विशेष पूजा-आराधना गरी माखन तथा मिस्री भोग लगाउने परम्परा रहेको छ। श्रीमद्भगवद्गीतामार्फत भगवान् श्रीकृष्णले दिनुभएको ‘निष्काम कर्म’ अर्थात् फलको आशा नगरी कर्तव्यपालन गर्ने उपदेश आजको समाजमा पनि उत्तिकै सान्दर्भिक रहेको छ। राष्ट्रिय एकता, सद्भाव र धार्मिक सहिष्णुता प्रवर्द्धन गर्ने यस पर्वका अवसरमा देशभर शोभायात्रा तथा झाँकीहरू प्रदर्शन गरी विशेष उत्साहका साथ श्रीकृष्ण जन्माष्टमी मनाइन्छ।
ताजा समाचार
© 2026, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Newlife Ranjit Yadav / 9814232702







