२४ भदौ, काठमाडौं।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भएको जेन-जी प्रदर्शनमा आपराधिक समूहहरूले योजनाबद्ध रूपमा घुसपैठ गरी हिंसा र विध्वंस भड्काएको दाबी गर्नुभएको छ। जेन-जी प्रदर्शनको एक वर्ष पूरा भएको अवसरमा बुधबार एमाले केन्द्रीय कार्यालयद्वारा जारी प्रेस वक्तव्यमा अध्यक्ष ओलीले भदौ २४ गते देशका प्रमुख राज्य निकाय तथा निजी सम्पत्तिमा भएको तोडफोड र आगजनीलाई नेपालको इतिहासकै ‘कालो अध्याय’ को संज्ञा दिनुभएको छ।
एमालेका अनुसार नवयुवाहरूले सामाजिक सञ्जालको निर्वाध सञ्चालन र सुशासनका मागसहित शान्तिपूर्ण प्रदर्शनको अनुमति लिएका थिए। तर, आयोजकले प्रदर्शन स्थगितको घोषणा गरिसकेपछि पनि आपराधिक षड्यन्त्रकारी समूहले युवाहरूलाई ‘मानव ढाल’ बनाई संसद् भवन घेराउ र आक्रमण गर्न उक्साएका थिए। वक्तव्यमा तत्कालीन सरकारको बल प्रयोगबाट १९ जना युवाको ज्यान गएको उल्लेख गर्दै मृतक युवा तथा कर्तव्य पालनाका क्रममा मारिएका प्रहरीहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ।



राष्ट्रपति भवन, सिंहदरबार, सर्वोच्च अदालत, प्रधानमन्त्री निवास तथा राजनीतिक दलका कार्यालयहरूमा भएको हिंसात्मक आगजनीलाई एमालेले ‘मुलुकलाई सर्वसत्तावाद र भूराजनीतिक द्वन्द्वमा होम्ने नियत’ भनेको छ। साथै, तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीमाथि मुद्दा चलाउने प्रयासलाई दुराग्रहपूर्ण भन्दै एमालेले घटनामा संलग्न वास्तविक घुसपैठिया र आरोपीहरूमाथि निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरेको छ।









