२४ भदौ, बारा । कलैया उपमहानगरपालिकाले रसुवा, नुवाकोट, धादिङ र गोर्खा लगायतका जिल्लामा भोटेकोशी नदीको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि रु ७७ लाख ७७ हजार ७ सय ७७ (रु ७७,७७,७७७) सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
नगर कार्यपालिकाको बैठकले उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा उपलब्ध गराउने निर्णय गरेको हो ।



उक्त सहयोग रकम नगर कार्यपालिका, मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था तथा विद्यालयका सम्पूर्ण कर्मचारी र शिक्षकहरूको १ देखि १० दिनसम्मको तलब (रु ५३,६२,१०५.९३), जनप्रतिनिधिहरूको १५ दिनको सेवा सुविधा (रु ५,०४,५००) र नगर विपद् कोष (रु १९,११,१७१.०७) बाट संकलन गरी एकमुष्ट जुटाइएको हो ।
नगर प्रमुख विनोद प्रसाद साहद्वारा जारी प्रेस विज्ञप्तिमा बाढीमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। साथै, विपद्को यस दुःखद घडीमा राहत, पुनरुत्थान र सहयोगका लागि सम्बन्धित सबै पक्षलाई हार्दिक अनुरोधसमेत गरिएको छ ।









