२६ भदौ, बारा । भाद्र कृष्ण औंसीका अवसरमा आज देशभर श्रद्धा, भक्ति र सम्मानका साथ ‘कुशे औंसी’ तथा ‘बुवाको मुख हेर्ने दिन’ मनाइँदै छ।
आजको दिन सनातन धर्मावलम्बीहरूले वर्षभरि घरमा गरिने पूजाआजा र धार्मिक कार्यका लागि आवश्यक पर्ने पवित्र कुश उखेलेर घर-घरमा भित्र्याउने गर्दछन्। वैदिक विधिअनुसार मन्त्रोच्चारण गरी भित्र्याइएको कुश घरमा राख्नाले वातावरण शुद्ध हुने धार्मिक विश्वास छ।



यस्तै, ‘पितृदेवो भव’ भन्ने वैदिक मान्यताअनुसार आज सन्तानहरूले आफ्ना जीवित बुवालाई मिठा-मिठा परिकार, फलफूल तथा कपडा उपहार दिएर आशीर्वाद लिने गर्दछन्। काम वा अध्ययनका सिलसिलेमा घरबाहिर रहेका सन्तानहरू पनि बुवाको मुख हेर्न र आशीर्वाद लिन घर पुग्ने वा प्रविधिको प्रयोग गरी शुभकामना आदानप्रदान गर्ने गर्दछन्।
दिवङ्गत भइसकेका बुवाको स्मरणमा आज गोकर्णेश्वर, देवघाट, बेत्रावती तथा विभिन्न तीर्थस्थलहरूमा स्नान गरी पितृ तर्पण र श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ।
यसै बीच, आज नेपाली साहित्यका युगप्रवर्तक तथा युवा कवि मोतीराम भट्टको १६१औँ जन्मजयन्ती पनि विभिन्न साहित्यिक कार्यक्रम गरी मनाइँदै छ।









