२६ भदौ, बारा । नयाँ आर्थिक वर्ष सुरु भएको करिब दुई महिना बित्नै लाग्दा पनि बारा र पर्साका अधिकांश स्थानीय तहको खाता सञ्चालन हुन सकेको छैन। खाता सञ्चालनमा ढिलाइ हुँदा कर्मचारीको तलब भुक्तानी, दैनिक प्रशासनिक कार्य तथा विकास निर्माणका गतिविधि प्रत्यक्ष प्रभावित भएका छन्।
कोष तथा लेखा नियन्त्रक कार्यालय बाराका प्रमुख कोष नियन्त्रक राधेश्याम गिरीका अनुसार बाराका १६ स्थानीय तहमध्ये हालसम्म ७ वटा (देवताल, करैयामाई, सिम्रौनगढ, परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुर) को मात्र खाता सञ्चालनमा आएको छ।



कलैया र जितपुरसिमरा उपमहानगरपालिकासहित महागढीमाई, पचरौता, कोल्भी, निजगढ नगरपालिका तथा बारागढी, आदर्शकोत्वाल र सुवर्ण गाउँपालिका गरी ९ वटा स्थानीय तहको खाता अझै बन्द छ।
उता पर्सामा पनि वीरगंज महानगरपालिका, पर्सागढी नगरपालिका, जिराभवानी, बिन्दवासिनी र पटेर्वा सुगौली गाउँपालिकाबाहेक अन्य स्थानीय तहको खाता सञ्चालन हुन सकेको छैन।
सरकारले समयमै तलब-भत्ता उपलब्ध गराउने नीति लिए पनि खाता नखुलिएका कारण दुई महिनादेखि कर्मचारीहरू सेवा सुविधाबाट बञ्चित भएका छन् भने चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा समेत अन्योल सिर्जना भएको छ।









