२७ भदौ,वीरगंज। जलवायु परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा तीव्र रूपमा बढ्दै गएको अत्यधिक गर्मी र घट्दो भूमिगत जलसतहको समस्यालाई राष्ट्रिय स्तरमा मुखरित गर्न वीरगञ्ज महानगरपालिकाको प्रतिनिधिमण्डल मुस्ताङको जोमसोम जाने भएको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिकामा भदौ ३० र ३१ गते आयोजना हुने ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन, २०८३’ मा भाग लिन महानगरको टोली भदौ ३० गते जोमसोम प्रस्थान गर्नेछ । सम्मेलनका लागि महानगरपालिकाले ‘तात्तिँदै वीरगन्ज, सुक्दै मधेश’ मूल नारा तय गरेको छ ।



शुक्रबार आयोजित एक विशेष कार्यक्रमका बीच कार्यवाहक नगरप्रमुख इम्तियाज आलम र प्रमुख प्रशासकीय अधिकृत वसन्त बोहराले महानगरका प्रशासन प्रमुख कीर्ति सुवेदी तथा वातावरण शाखा प्रमुख राकेश साहलाई बिदाइ गरे ।
बिदाइ कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख आलमले जलवायु परिवर्तनको असर हिमाली भूभागमा मात्र सीमित नभई तराई–मधेशमा पनि गम्भीर सङ्कटका रूपमा देखा पर्न थालेको बताए । वीरगञ्ज लगायत समग्र मधेश क्षेत्रमा भूमिगत पानीको तह घट्दै जाँदा पिउने पानीको चरम समस्या सिर्जना भएकाले यस मुद्दालाई राष्ट्रिय ध्यानाकर्षण गराउन सम्मेलन महत्त्वपूर्ण हुने उनले उल्लेख गरे ।









