२७ भदौ, काठमाडौं। नेपाली कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्ष असोज ३ गतेदेखि सुरु हुने पार्टीको १५ औं महाधिवेशनको प्रक्रियामा सहभागी हुने भएको छ। पूर्वसभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला र खड्का पक्षले अघि सारेका मागहरू सम्बोधन गर्न सभापति गगन थापा र उनको टिम प्रतिबद्ध भएपछि यो सहमति जुटेको हो। मागहरूलाई औपचारिक रूपमा सम्बोधन गर्न सभापति थापाले आइतबार नै केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।

यसअघि गत वैशाख दोस्रो साता खड्काले पार्टीको सम्पूर्ण एकताका लागि भन्दै सभापति थापासामु आठ बुँदे माग प्रस्तुत गरेका थिए। ती मागहरूमध्ये १४ औं महाधिवेशनबाट निर्वाचित भई विशेष महाधिवेशनपछि बाहिर परेका १ सय ११ जना पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको समायोजन मुख्य विषय थियो। साथै महाधिवेशनको निष्पक्षताका लागि आयोजक, निर्वाचन, विधान मस्यौदा र अनुशासन समितिका साथै भ्रातृ संस्थाहरूको गठनमा सबै पक्षको सहमति हुनुपर्ने विषय समावेश थिए।

मागहरूमध्ये १० पुस २०८२ भित्र नवीकरण गरिएका सबै सदस्यतालाई महाधिवेशनको प्रक्रियामा सहभागी गराउने निर्णय यसअघि नै भइसकेको छ। संस्थापन पक्षले भने विशेष महाधिवेशनपछि अद्यावधिक भएका सदस्यहरूबाट मात्र महाधिवेशन गराउने नीति लिएको थियो। अब आइतबार बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आह्वान गरेपछि बाहिर रहेका देउवा तथा खड्का पक्षका सदस्यहरूलाई केन्द्रीय कार्यसमितिमा मनोनयन गर्ने तयारी गरिएको छ।

यस सहमतिपछि खड्का पक्षका नेता श्याम घिमिरेका अनुसार तत्कालीन कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्य गरेर करिब ४० जना नेताहरू पार्टीको महाधिवेशन प्रक्रियामा समाहित हुनेछन्। यद्यपि, कांग्रेस विवादसम्बन्धी मुद्दा पुनरावलोकनको प्रक्रियामा रहेकाले नैतिक आधारमा नेता पूर्णबहादुर खड्का स्वयं भने सहभागी हुने छैनन्। तर उनले आफ्ना पक्षका सबै नेता-कार्यकर्ताहरूलाई माग पूरा हुने वातावरण बनेकाले महाधिवेशनमा सक्रियताका साथ सहभागी हुन सन्देश दिएका छन्।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर