२२ भदौ,काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गतको वडा अधिवेशन असोज पहिलो साता गर्ने निर्णय गरिएको छ। केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मुलुकभर बाढीपहिरोले पारेको प्रभाव र विषम स्थितिलाई ध्यानमा राख्दै वडा अधिवेशनको मिति सारिएको हो।
कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरीका अनुसार रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरू बाढीपहिरोबाट प्रभावित भएकाले वडा अधिवेशन असोज ३ वा ४ गतेसम्म हुने गरी तय गरिएको छ। पार्टीका प्रवक्ता देवराज चालिसेले पीडित क्षेत्रको अवस्थालाई हेरेर निर्वाचन समितिले आवश्यक प्रक्रिया अघि बढाउने जानकारी दिए।



यसैबीच, बैठकले क्रियाशील सदस्यताको विषयमा पनि लचकता अपनाउने निर्णय गरेको छ। तत्कालीन महामन्त्री (हाल सभापति) गगन थापाको नेतृत्वमा रहेको समितिले टुंग्याएको क्रियाशील सदस्यता नवीकरण आधार मानेर महाधिवेशनमा जाने सहमति भएको छ। यसले गर्दा १५ औँ महाधिवेशनका लागि तत्काल क्रियाशील सदस्यता अद्यावधिक गराउनुपर्ने बाध्यता टरेको छ भने अद्यावधिक गर्ने प्रक्रिया महाधिवेशन सम्पन्न नभएसम्म जारी रहने जनाइएको छ। कांग्रेसको १५ औँ महाधिवेशन भने यसअघि नै तय भएको असोज १६ देखि १९ गतेसम्म नै हुनेछ।









