२५ भदौ,बारा। जितपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कार तथा हत्या अभियोगमा पक्राउ परेका दुई नाबालकलाई बारा जिल्ला अदालतले पुर्पक्षका लागि बाल सुधार गृह, वीरगन्ज पठाउने आदेश दिएको छ ।
बुधबार जिल्ला अदालतका मुख्य न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासमा भएको थुनछेक बहसपछि उक्त आदेश जारी भएको हो । साथै अदालतले पीडित बालिकाका आमाबुवालाई तत्काल सरकारी कोषबाट २ लाख
रुपैयाँ राहत उपलब्ध गराउनसमेत आदेश दिएको छ ।



बहसमा पीडित पक्षबाट अधिवक्ता चन्द्रिका पटेल र सरकारका तर्फबाट शम्भु बस्नेतले बहस गरेका थिए। अधिवक्ता पटेलका अनुसार घटनामा पक्राउ परेका कुल ९ जनामध्ये २ जना नाबालकको थुनछेक बहस सकिएको र बाँकी ७ जना आरोपितको बहस एक-दुई दिनभित्र हुनेछ। घटनामा संलग्न अन्य एक जना आरोपित अझै फरार रहेकाले निजको खोजी र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









