२४ भदौ, बारा । कलैयाको मुख्य व्यापारिक केन्द्र भरत चोकमा बस तथा म्याजिक यातायात व्यवसायीहरूले ई-रिक्सा (अटो) को अनियन्त्रित र मापदण्डविपरीत सञ्चालनविरुद्ध सुरु गरेको आन्दोलन आज दोस्रो दिन पनि जारी राखेका छन्। सम्पूर्ण बारा यातायात प्रालि अन्तर्गतका व्यवसायीहरूले भरत चोकमा सवारीसाधन पार्क गरी प्रदर्शन गरिरहेका छन्। स्थानीय प्रशासन र नगर सरकारले आफ्ना मागहरू सम्बोधन नगरेसम्म आन्दोलन नरोकिने उनीहरूले बताएका छन्।

व्यवसायीहरूका अनुसार ई-रिक्सा तथा अटोहरूले कुनै निश्चित रुट परमिट, कानुनी मापदण्ड र यात्रु क्षमताको पालना नगरी मनपरी ढङ्गले भाडा असुल्ने र ओसारपसार गर्ने कार्य गरिरहेका छन्। नियमविपरीत अटो सञ्चालन हुँदा दुर्घटनाको जोखिम बढ्नुका साथै वर्षौँदेखि कर तिरेर सञ्चालित बस र म्याजिक व्यवसाय संकटमा परेको उनीहरूको भनाइ छ। उनीहरूले अटोका लागि तत्काल निश्चित रुट तोक्न र कडा अनुगमन गर्न जोडदार माग गरेका छन्।

लगातार दोस्रो दिन पनि भरत चोकमा यातायातका साधन ठप्प हुँदा कलैयाबाट वीरगन्ज, सिम्रौनगढ लगायतका आसपासका क्षेत्रमा आवतजावत गर्ने सर्वसाधारण तथा यात्रुहरूले निकै सास्ती भोग्नु परेको छ। स्थानीय प्रशासनले तत्काल वार्तामार्फत समस्या समाधान नगरे आन्दोलनलाई अझ सशक्त र व्यापक बनाउने चेतावनी व्यवसायीहरूले दिएका छन्।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर