२६ भदौ, बारा । कलैया–वीरगञ्ज सडकखण्ड अन्तर्गत कलैया उपमहानगरपालिका–२३ स्थित गार्डेन भ्यु रिसोर्ट नजिकै सुमोको ठक्करबाट घाइते भएका पैदलयात्री युवकको मृत्यु भएको छ। मृतकको पहिचान प्रसौनी गाउँपालिका–५ प्रस्टोका टोल निवासी १९ वर्षीय अलोक कुमार साहको रूपमा खुलेको छ।
बिहीबार राति करिब ९:१० बजे वीरगञ्जबाट कलैयातर्फ आउँदै गरेको ना.१ ज ६४०३ नम्बरको सुमोले पैदल हिँडिरहेका साहलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका साहलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल कलैया लगिएकोमा थप उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल पठाइएको थियो। उपचारका क्रममा राति १०:३५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए।



शुक्रबार बिहान मृतकका बुबा सुभाष कुमार साहले अस्पताल पुगेर शवको पहिचान गराएका हुन्। ठक्कर दिने सुमो र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।









