२६ भदौ, बारा। बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिकाको बलात्कार तथा हत्या प्रकरणमा आरोपी बनाइएका १० जनालाई बारा जिल्ला अदालतले रिहा गरेको छ। न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले घटनामा पर्याप्त ठोस प्रमाण नदेखिएको भन्दै मुख्य प्रतिवादी प्रोग्रेश चौधरीलाई २० हजार रुपैयाँ धरौटी र उनका परिवारका सदस्यहरूसहित अन्य ९ जनालाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो

यसअघि सोही घटनामा प्रतिवादी बनाइएका दुई नाबालकलाई भने मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म वीरगन्जस्थित बाल सुधारगृहमा पठाउने आदेश भइसकेको छ। पक्राउ परेकामध्ये एक नाबालकले बालिकालाई चकलेट दिएर बलात्कारपछि हत्या गरेको स्वीकार गरिसकेका छन् भने अर्का नाबालकले भने घटनामा आफ्नो संलग्नता अस्विकार गरेका छन्।

अनुसन्धानका क्रममा प्रादेशिक अस्पताल कलैयाको OCMC कक्षमा चिकित्सकसँग कुरा गरिरहेका नाबालकको बयान भिडियो ‘लीक’ गर्ने प्रहरी हवल्दार कुमार विकलाई नियन्त्रणमा लिइएको छ। सामाजिक सञ्जालमा भिडियो फैलिएपछि जिल्ला प्रहरी कार्यालय बाराले विकविरुद्ध वैयक्तिक गोपनीयता ऐन २०७५ र विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत कारबाही अघि बढाएको छ।

साउन ३१ गतेदेखि हराएकी बालिकाको भदौ २ गते घरनजिकैको खाली घरमा शव फेला परेपछि परिवार र स्थानीयवासी आन्दोलित बनेका थिए। घटनालाई लिएर देशभर विरोध प्रदर्शन चर्किएपछि भदौ ६ गते गृह मन्त्रालयमा सरकारी टोलीसँग पीडित पक्षको ३ बुँदे सहमति भएको थियो, जसपश्चात् भदौ ७ गते कलैयाको पसाहा खोलामा बालिकाको अन्त्येष्टि गरिएको थियो।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर