२७ भदौ, बारा। बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान तथा प्रमाणीकरणको कार्यलाई अघि बढाएको छ। उपमहानगरपालिकाको ७० औँ कार्यपालिका बैठकले वडा नम्बर १, २ र २१ मा पहिचान भएका १ हजार ६ सय ४९ परिवारको विवरण प्रमाणीकरण गरी स्वीकृत गरेको हो।

बैठकले स्वीकृत गरेको विवरणमा २४ जना भूमिहीन दलित, २ सय ४८ जना भूमिहीन सुकुम्बासी र १ हजार ३ सय ७८ जना अव्यवस्थित बसोबासी रहेका छन्। उपमहानगरपालिकाका अनुसार ‘भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरणको आधार र मापदण्ड, २०८३’ बमोजिम यो प्रमाणीकरण गरिएको हो।

वडागत विवरण अनुसार वडा नम्बर १ मा ६ भूमिहीन दलित र ११६ भूमिहीन सुकुम्बासी गरी १२२ परिवार सूचीकृत भएका छन् भने यस वडामा अव्यवस्थित बसोबासीको विवरण स्वीकृत सूचीमा छैन। यस्तै, वडा नम्बर २ मा सबैभन्दा बढी १७ भूमिहीन दलित, १०६ भूमिहीन सुकुम्बासी र ७७० अव्यवस्थित बसोबासी गरी कुल ८९३ परिवारको विवरण प्रमाणीकरण भएको छ। वडा नम्बर २१ मा भने १ भूमिहीन दलित, २६ भूमिहीन सुकुम्बासी र ६०८ अव्यवस्थित बसोबासी गरी ६३५ परिवार स्वीकृत सूचीमा परेका छन्।

कार्यपालिकाबाट स्वीकृत उक्त विवरणलाई अब आवश्यक प्रक्रिया पूरा गरी भूमि समस्या समाधान समिति, बारामा पठाइने भएको छ। स्थानीय तहबाट पहिचान र प्रमाणीकरणको चरण पूरा भएसँगै लामो समयदेखि बसोबास गर्दै आएका लाभग्राही परिवारले वैधानिक रूपमा जग्गा प्राप्त गर्ने र स्वामित्वसम्बन्धी प्रक्रिया सहज हुने उपमहानगरपालिकाले जनाएको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार